सुशासन र आधारभूत सेवामा सम्झौता हुँदैन : मनिष झा

जनकपुरधाम, १६ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाले चुनावी घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवारी दिएका झाले सुशासन, पारदर्शिता र आधारभूत सेवाको सुनिश्चिततालाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् ।
शनिबार उनले नगराइन नगरपालिका–२ जटही तथा जनकपुरधाम उपमहानगरपालिका–६ मा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए ।
टोलटोलमा पुगेर स्थानीयका गुनासा र सुझाव सुनेका झाले खानेपानी, ढल निकास, सडक स्तरोन्नति, शिक्षा–स्वास्थ्यको पहुँच तथा बेरोजगारी जस्ता समस्या तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।
‘जनताको करबाट चल्ने राज्य संयन्त्र पारदर्शी र जवाफदेही हुनुपर्छ,’ उनले भने, ‘सुशासन बिना विकास सम्भव हुँदैन । हामी परिणाममुखी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्छौं ।’
उनका अनुसार विश्व द्रुत गतिमा अघि बढिरहेको समयमा पनि धनुषा–३ का नागरिक आधारभूत सेवाबाट वञ्चित हुनु दुःखद विषय हो ।
विशेषगरी युवापलायन बढ्दो चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण निर्माण गर्न नीति र कार्यक्रम ल्याउने बताए ।
झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई दीर्घकालीन सुधारको आधार मान्दै गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए ।
विगतमा निर्वाचित प्रतिनिधिहरूले गरेका वाचा पूरा हुन नसक्दा जनविश्वास कमजोर भएको उल्लेख गर्दै यसपटक मतदाता सचेत र परिवर्तनप्रति सकारात्मक देखिएको दाबी गरे ।
‘राजनीति जातीयता वा व्यक्तिगत स्वार्थमा सीमित हुनु हुँदैन,’ उनले भने, ‘देशको समृद्धि, पारदर्शी प्रशासन र प्रभावकारी सेवा प्रवाह नै हाम्रो प्राथमिकता हो ।’
घरदैलो अभियानका क्रममा स्थानीय बासिन्दाले उनलाई न्यानो स्वागत गरेका थिए । उनीहरूले विकासका अधुरा काम सम्पन्न गर्न, सेवा प्रवाहलाई सरल बनाउन र भ्रष्टाचार नियन्त्रणमा कडा कदम चाल्नुपर्ने बताए ।
चुनावी गतिविधि तीव्र बन्दै जाँदा धनुषा–३ मा उम्मेदवारहरूबीच प्रत्यक्ष जनसम्पर्क र एजेन्डा केन्द्रित प्रतिस्पर्धा बढ्दै गएको देखिन्छ ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


