बारा, १६ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातेसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार सन्जु साह घरदैलो अभियानमा सक्रिय देखिएका छन् ।

जितपुर–सिमरा उपमहानगरपालिका अन्तर्गतका विभिन्न वडामा पुगेका साहले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन् ।

शनिबार जितपुर बजार, सिमरा, परवानीपुर आसपासका बस्तीमा गरिएको घरदैलो कार्यक्रममा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको थियो ।

साहलाई स्वागत गर्न युवा, महिला तथा ज्येष्ठ नागरिकसमेत सडकमा उत्रिएका थिए । समर्थकहरूले ‘विकासका लागि सन्जु साह’ भन्दै नाराबाजीसमेत गरेका थिए ।

घरदैलोका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उम्मेदवार साहले आफू जनताको सेवकका रूपमा राजनीति गरिरहेको बताएका छन् ।

उनले भने, ‘राजनीति मेरो लागि व्यक्तिगत लाभको माध्यम होइन । यो जनताको समस्या समाधान गर्ने माध्यम हो । बारा–४ लाई शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारमा अगाडि बढाउनु मेरो पहिलो प्राथमिकता हो ।’

साहले विगतका प्रतिनिधिहरूले निर्वाचनका बेला मात्र जनतासँग सम्पर्क गर्ने प्रवृत्ति रहेको आरोप लगाउँदै आफू निर्वाचित भए जनतासँग निरन्तर संवादमा रहने प्रतिबद्धता जनाए ।

‘म चुनाव जितेपछि पाँच वर्ष हराउने उम्मेदवार होइन,’ उनले भने, ‘जनताको घरदैलोमा निरन्तर पुगेर समस्या सुन्ने र समाधान खोज्नेछु ।’

जितपुर–सिमरा औद्योगिक करिडोर क्षेत्र भएकाले यहाँ रोजगारी सिर्जनाको ठूलो सम्भावना रहेको साहको भनाइ छ ।

‘हामीसँग उद्योग छन्, तर स्थानीय युवा विदेशिन बाध्य छन् । उद्योग–व्यवसायलाई प्रवर्द्धन गर्दै स्थानीयलाई प्राथमिकता दिन कानुनी तथा नीतिगत पहल गर्नेछु,’ उनले भने ।

उनले साना तथा मझौला उद्यमलाई सहुलियत ऋण, सीपमूलक तालिम र बजार व्यवस्थापनमा सहयोग गर्ने योजना रहेको पनि उल्लेख गरे । कृषि क्षेत्रलाई आधुनिक प्रविधिसँग जोडेर किसानको आम्दानी बढाउने रणनीति रहेको साहले बताए ।

साहले बारा–४ का सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार तथा प्राविधिक शिक्षामा पहुँच विस्तार गर्न पहल गर्ने बताए ।

‘हाम्रो लक्ष्य प्रत्येक पालिकामा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो । आधारभूत स्वास्थ्य केन्द्रलाई सुदृढ गर्दै विशेषज्ञ सेवा विस्तार गर्न पहल गर्नेछु,’ उनले भने ।

उनका अनुसार ग्रामीण क्षेत्रमा सडक, खानेपानी, सिंचाइ तथा विद्युतीकरणका अधुरा योजनालाई प्राथमिकतामा राखेर सम्पन्न गरिनेछ ।

घरदैलो अभियानमा सहभागी स्थानीयवासीले साहप्रति सकारात्मक प्रतिक्रिया दिएको दाबी जसपा नेताहरूले गरेका छन् ।

स्थानीय युवा राजेश चौधरीले भने, ‘यसपटक हामी परिवर्तन चाहन्छौं । सन्जु साहजस्तो सक्रिय उम्मेदवारबाट आशा छ ।’

महिला समूहकी प्रतिनिधि सरिता देवीले पनि साहले महिला सशक्तीकरण र स्वरोजगार कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिइन् ।

बारा–४ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ । चुनावी माहोल चर्किंदै जाँदा सबै उम्मेदवारले घरदैलो, सभा तथा कोणसभामार्फत मतदाता रिझाउने प्रयास गरिरहेका छन् ।

यसैक्रममा, सन्जु साहले जनताको अपार माया र आशीर्वाद आफूले पाएको दाबी गर्दै अन्तिम समयसम्म घरदैलो अभियानलाई तीव्रता दिने बताएका छन् ।

‘जनताको विश्वासले मलाई थप जिम्मेवार बनाएको छ,’उनले भने, ‘यो विश्वासलाई विकास र सुशासनमार्फत प्रतिफल दिनेछु ।’