मतदातामाझ मनिष झा, बेरोजगारी र पूर्वाधार सुधारलाई प्राथमिकता

जनकपुरधाम, १५ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झा घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा केन्द्रित भएका छन् ।
झाको सक्रिय अभियानसँगै क्षेत्रका मतदातामा रास्वपाप्रतिको आकर्षण बढ्दै गएको बताइएको छ ।
शुक्रबार आयोजित विभिन्न कार्यक्रममार्फत ८० जनाभन्दा बढी व्यक्तिले रास्वपामा प्रवेश गरेको जनाइएको छ ।
घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै झाले धनुषा–३ लाई राजनीतिक परिवर्तनको ऐतिहासिक आधारभूमि बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको बताए ।
धनौजीमा आयोजित कार्यक्रममा उनले अबको राजनीति पद र पैसाभन्दा विचार र नयाँ पुस्ताको नेतृत्वमा आधारित हुनुपर्ने धारणा व्यक्त गरे ।
स्थानीयले उठाएका जीर्ण सडक, बेरोजगारी र युवापलायनका समस्या प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता उनले जनाए । सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई मुख्य एजेण्डा बनाइने उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने वातावरण तयार गरिने उनले बताए ।
‘राजनीति पेशा होइन, सेवा हो । प्रणाली सुधारबिना विकासले गति लिन सक्दैन,’ भन्दै झाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई समेत प्राथमिकतामा राखेको बताए ।
सामुदायिक विद्यालयको गुणस्तर सुधार, सीपमूलक तालिम विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवाका लागि संसदमा प्रभावकारी आवाज उठाउने उनको भनाइ थियो ।
भेटघाटका क्रममा केही स्थानीय बासिन्दाले विगतका प्रतिनिधिहरूले गरेका वाचा पूरा नभएको गुनासो गरेका थिए । त्यसप्रति प्रतिक्रिया दिँदै झाले अब जनताले भाषणभन्दा कामको परिणाम खोजिरहेको उल्लेख गरे ।
रास्वपाले घरदैलो अभियानलाई धनुषा–३ का अन्य वडामा समेत निरन्तरता दिने जनाएको छ ।






तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


