जनकपुरधाम, १५ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल तातिँदै जाँदा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले आफ्नो घरदैलो अभियानलाई तीव्रता दिएकी छन् ।

प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार महतोले विकास र समृद्धिका लागि स्पष्ट दृष्टिकोण तथा कार्ययोजना आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेकी हुन् ।

शुक्रबार नगराइन नगरपालिका–४ फुलगामामा घरदैलो अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै उनले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले नागरिकको जीवनस्तर उकास्ने दीर्घकालीन लक्ष्य बोकेको बताइन् ।

मुलुकलाई आर्थिक तथा भौतिक विकासको दिशामा अघि बढाउन एमाले नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

धनुषासहित समग्र मधेश प्रदेशको समग्र विकासका लागि पार्टीसँग ठोस र व्यवहारिक योजना तयार रहेको उल्लेख गर्दै महतोले संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास र राष्ट्रिय स्वाभिमानको संरक्षणमा एमालेको भूमिका महत्वपूर्ण रहेको दाबी गरिन् ।

घरदैलो अभियानका क्रममा मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको उल्लेख गर्दै उनले जनविश्वास नै आफ्नो चुनावी अभियानको मुख्य शक्ति भएको प्रतिक्रिया दिइन् ।