जनकपुरधाम, १५ फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धनुषाको छिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई झोला तथा आवश्यक स्टेशनरी सामग्री वितरण गरेको छ ।

बैंकको जनकपुर क्षेत्रीय कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोला, कापी, कलम, पेन्सिल लगायतका शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउँदै शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा जनकपुर क्षेत्रीय कार्यालयका प्रतिनिधि, भानुचोक, पिडारीचोक तथा बर्दिवास शाखाका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा जनकपुर क्षेत्रीय कार्यालयका अनुगमन अधिकृत उमानाथ विक तथा पिडारीचोक शाखाका शाखा प्रबन्धक श्याम महासेठले शिक्षा राष्ट्र निर्माणको मुख्य आधार भएकाले बैंकले वित्तीय सेवासँगै सामाजिक क्षेत्रमा पनि निरन्तर योगदान दिँदै आएको बताए ।

उनीहरूले स्थापनाकालदेखि नै बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामुदायिक कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालय परिवार तथा स्थानीय प्रतिनिधिहरूले बैंकको पहलप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरूको मनोबल बढाउनुका साथै अध्ययनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

बैंकले बैंकिङ सेवासँगै सामाजिक तथा सामुदायिक विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।