जनकपुरधाम, १५ फागुन । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानलाई पुनः लिकमा ल्याउनु अहिलेको प्रमुख राजनीतिक आवश्यकता भएको बताएका छन् ।

जनकपुरधामस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले संविधान लिक बाहिर गएको भन्दै त्यसलाई संस्थागत मार्गमा फर्काउन राजनीतिक सहमति र निर्वाचन अपरिहार्य रहेको बताएका हुन् ।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था समेत कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै हालको राजनीतिक परिस्थितिले प्राप्त उपलब्धिको संरक्षणमा चुनौती देखिएको धारणा राखे ।

जेनजी आन्दोलनपछि बनेको सरकार बाध्यकारी अवस्थाबाट गठन भएको स्मरण गराउँदै उनले लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्न निर्वाचन नै उत्तम विकल्प भएको बताए ।

उनले संविधानलाई लिकमा ल्याउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगाउने र जनताको विश्वास कायम राख्ने जिम्मेवारी सबै राजनीतिक दल तथा नागरिकको भएको बताए ।

निर्वाचन सफल बनाउन साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

निधिले नेपाली कांग्रेसले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा प्रवेश गराउन अग्रणी भूमिका खेलेकाले वर्तमान चुनौती समाधानमा पनि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने दाबी गरे ।

केही दलहरू संघीयताको विरोधमा उभिँदै प्रदेश खारेजीको माग गरिरहेको आरोप लगाउँदै उनले राजनीतिक संक्रमणबाट मुलुकलाई बाहिर निकाल्ने अनुभव कांग्रेससँग रहेको बताए ।

उनले आगामी निर्वाचनमार्फत लोकतान्त्रिक उपलब्धिको रक्षा हुने विश्वास व्यक्त गर्दै फेरि नेपाली जनताले कांग्रेसप्रति भरोसा गर्ने विश्वाससमेत व्यक्त गरे ।

भिडियो