मतदानको दिन सिरहामा सवारी सञ्चालनमा कडाइ, अत्यावश्यक बाहेक सबै सवारी रोक

सिरहा, १५ फागुन । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मतदान हुने दिन सिरहा जिल्लाम सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जारी गरेको सूचनाअनुसार फागुन २१ गते मतदानको दिन अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने जनाएको हो ।
प्रशासनले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नभएसम्मका लागि सवारी आवागमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको जनाएको छ ।
सूचनामा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी साधन, विद्युत मर्मत, खानेपानी तथा ढल मर्मत तथा दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारी साधनलाई सञ्चालनको अनुमति रहने उल्लेख गरिएको छ ।
यस्तै कूटनीतिक नियोगका सवारी साधन तथा निर्वाचन प्रयोजनका लागि पास प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइने प्रशासनले स्पष्ट पारेको छ ।
प्रशासनका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन सवारी सञ्चालनमा कडाइ गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जारी गरेको सूचनामा सर्वसाधारणलाई नियमको पालना गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


