धनुषा–३ मा मनिष झाको घरदैलो अभियान: विकास, सुशासन र पारदर्शितामा जोड

जनकपुरधाम, १४ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधि सभा उम्मेदवार मनिष झाले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार झाले विकास, सुशासन र पारदर्शितालाई आफ्नो मुख्य एजेन्डा बनाउँदै स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाटमार्फत आफ्नो योजना प्रस्तुत गरेका छन् ।
बिहीबार नगराइन नगरपालिका अकौरामा घरदैलो गर्दै उनले खानेपानी, ढल व्यवस्थापन, सडक स्तरोन्नति, बेरोजगारी र बढ्दो युवापलायन जस्ता स्थानीय समस्याबारे आफू पूर्ण जानकारी राखेको र ती विषयमा गम्भीरतापूर्वक पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘विश्व तीव्र गतिमा प्रगतितर्फ अघि बढिरहे पनि धनुषा–३ का नागरिक अझै आधारभूत सेवामा असमानता र अभाव भोग्न बाध्य छन् ।’
उम्मेदवार झाले विकासका लागि बजेट खर्च भए तापनि अपेक्षित परिणाम नआएको भन्दै पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।
रास्वपा नेतृत्वमा सरकार बनेमा शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
पुरानो शैलीको राजनीतिले जनताको अपेक्षा पूरा गर्न नसकेको टिप्पणी गर्दै उनले भने, ‘हामी परिवर्तनको एजेन्डा कागजमा मात्र सीमित नराखी व्यवहारमै लागू गर्नेछौं । वर्षौंदेखि दोहोरिँदै आएको पुरानो शैलीको राजनीति परिवर्तन गर्न अब जनताले नै अग्रसर हुनुपर्छ । हामी भाषणभन्दा काममा विश्वास गर्छौं र जनताको करबाट उठेको रकम जनताकै हितमा खर्च हुने वातावरण बनाउने लक्ष्य राखेका छौं ।’
विशेषगरी युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउने, कृषि र साना व्यवसाय प्रवर्द्धन गर्ने र भ्रष्टाचार नियन्त्रणका लागि कडा नीतिगत पहल गर्ने आफ्नो प्राथमिकतामा उनले जोड दिए ।
उनले युवापलायन रोक्दै स्थानीय स्तरमै अवसर र सम्भावना विस्तार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको दोहोर्याए ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


