जनकपुरधाम, १४ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले प्रचारप्रसार गतिविधि थप सुदृढ बनाउने क्रममा धनुषाका महेश कुमार साहलाई केन्द्रीय प्रचारप्रसार समितिको सदस्यमा मनोनयन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरबाट जारी पत्रमार्फत साहलाई उक्त जिम्मेवारी दिइएको हो ।

पार्टीले निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउने तथा समानुपातिक मत वृद्धि गर्ने उद्देश्यले प्रचारप्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित ढंगले सञ्चालन गर्न समितिको विस्तार गरेको जनाएको छ ।

पत्रमा प्रचारप्रसार कार्यलाई परिणाममुखी बनाउन साहले आफ्नो क्षमताअनुसार सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले हस्ताक्षर गरेको पत्रमार्फत जिम्मेवारी प्रदान गरिएको हो ।

पार्टीभित्र प्रचार संयन्त्र सुदृढ गर्दै चुनावी अभियानलाई तीव्र बनाउने रणनीतिअन्तर्गत विभिन्न जिल्लाका नेताहरुलाई समितिमा समेट्ने क्रम जारी रहेको बताइएको छ ।

धनुषामा साहको मनोनयनसँगै स्थानीय तहदेखि संघीय निर्वाचन क्षेत्रसम्म प्रचार अभियान थप सक्रिय हुने विश्वास गरिएको छ ।