धनुषामा आचारसंहिता उल्लङ्घनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा, सीमाक्षेत्रमा कडा सुरक्षा

जनकपुरधाम, १४ फागुन । प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा धनुषामा निर्वाचन आचारसंहिता उल्लङ्घनका डेढ लाखभन्दा बढी प्रचार सामग्री नियन्त्रणमा लिइएको छ ।
आचारसंहिता अनुगमन समितिले जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट ती सामग्री नियन्त्रणमा लिएको जनाएको हो ।
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशले जनकपुरधाममा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
कार्यक्रममा जिल्लामा निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन र आचारसंहिता कार्यान्वयनको अवस्थाबारे विस्तृत जानकारी गराइएको थियो ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले निर्वाचन आचारसंहिता विपरीतका प्रचार सामग्री जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार आचारसंहितासम्बन्धी लिखित तथा मौखिक गरी ३१ वटा उजुरी प्राप्त भएकामा २६ वटा उजुरी समाधान गरिएको छ भने बाँकी विषय थप कारबाहीका लागि निर्वाचन आयोगमा पठाइएको छ ।
सीमाक्षेत्रमा उच्च सतर्कता
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।
सीमाबाट आवतजावत गर्ने व्यक्तिमाथि निगरानी बढाउनुका साथै विभिन्न स्थानमा अस्थायी चेकपोस्ट स्थापना गरी जाँच प्रक्रिया कडाइ गरिएको प्रशासनले जनाएको छ ।
सीमा नाकामा दुवै देशका सुरक्षाकर्मीबीच समन्वय गरी संयुक्त निगरानी बढाइएको पनि जानकारी दिइएको छ ।
जिल्लामा नेपाल–भारत सीमा जोडिएका १९४ मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखिएको छ ।
संवेदनशील र अति संवेदनशील केन्द्रमा थप सुरक्षाकर्मी परिचालन गरिने र आवश्यक परे केही मिनेटमै सुरक्षा टोली पुग्ने गरी व्यवस्थापन मिलाइएको प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।
निर्वाचन सामग्री र जनशक्ति व्यवस्थापन अन्तिम चरणमा
प्रदेश निर्वाचन कार्यालय मधेश प्रदेशका प्रमुख रोम बहादुर महतले निर्वाचनका लागि अधिकांश तयारी पूरा भइसकेको जानकारी दिए ।
उनका अनुसार सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानीको काम नेपाली सेना मार्फत सम्पन्न भइसकेको छ र अहिले मतदान सामग्री मिलाउने तथा वितरण तयारी भइरहेको छ ।
जिल्लामा ३ सय २३ मतदान स्थलअन्तर्गत ६ सय ४५ मतदान केन्द्र रहने छन् । निर्वाचन सञ्चालनका लागि ३ हजार ५ सय ७८ कर्मचारी परिचालन गर्ने योजना रहेको कार्यालयले जनाएको छ ।
अनुगमन र पत्रकारसँग अन्तरक्रिया
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता उल्लङ्घन अनुगमन अधिकृत कृष्ण गैह्रेले अनुगमन संयन्त्र सक्रिय रूपमा परिचालन गरिएको र निर्वाचन अवधिभर निगरानी निरन्तर जारी रहने बताए ।

पत्रकार अन्तरक्रियामा सहभागी सञ्चारकर्मीहरूले सीमाक्षेत्र सुरक्षा, मतदाता व्यवस्थापन, आचारसंहिता कार्यान्वयन तथा सम्भावित चुनौतीबारे जिज्ञासा राखेका थिए ।
अधिकारीहरूले निष्पक्ष, सुरक्षित र व्यवस्थित निर्वाचन गराउन सबै निकायबीच समन्वय बढाइएको उल्लेख गरे ।
निर्वाचन नजिकिँदै जाँदा धनुषामा सुरक्षा, अनुगमन र व्यवस्थापनका काम तीव्र पारिएकाले निर्वाचन प्रक्रिया व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


