जनकपुरधाम, १४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले विपक्षी दलहरूसँग ठोस एजेण्डा नभएकाले आफ्नो विरुद्ध झुट प्रचार गरिएको आरोप लगाएकी छन् ।

बिहीबार जनकपुरधाम उपमहानगरपालिका–५ मा आयोजित घरदैलो अभियानका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले आफू प्रतिस्पर्धामा नरहेको भन्दै फैलाइएको हल्ला असत्य भएको बताइन् ।

मतदाताबाट प्राप्त माया, साथ र उत्साह देखेर विपक्षीले भ्रम फैलाउने प्रयास गरेको उनको भनाइ थियो ।

महतोले आफू प्रतिनिधिसभा सदस्यका रूपमा बिताएको तीन वर्षमा क्षेत्रका लागि विभिन्न योजना ल्याएको दाबी गर्दै ती योजनाहरूलाई पूर्णता दिन मतदातासँग पुनः मत मागिरहेको बताइन् ।

ती योजनाहरू सम्पन्न गर्न धनुषा–३ का मतदाता आफूलाई नै समर्थन गर्नेमा विश्वस्त रहेको उनले उल्लेख गरिन् ।

उनले एमालेको मुख्य एजेण्डा संविधानको रक्षा र राष्ट्रिय स्वाधीनता रहेको भन्दै आफ्नो चुनावी प्रतिबद्धता पनि सोही विषयमा केन्द्रित रहेको बताइन् ।

साथै, जनकपुरधामको विकासमा एमाले नेतृत्वको सरकारले गरेका कामबारे मतदाता स्पष्ट रहेको र त्यसले आफूलाई थप विश्वास मिलेको उनको दाबी थियो ।

घरदैलो अभियानकै क्रममा उम्मेदवार महतो बिहीबार धनुषा–३ अन्तर्गत पर्ने नगराइन क्षेत्र पुग्दा स्थानीयले स्वागत गरेको अभियान टोलीले जनाएको छ ।