महोत्तरी, १४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभर विशेष सुरक्षा तथा व्यवस्थापनका विभिन्न निर्णय सार्वजनिक गरेको छ ।

प्रशासनले सवारी साधन सञ्चालनमा रोक, ड्रोन उडान निषेध तथा भारतसँग जोडिएका सम्पूर्ण सीमानाका अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको हो ।

प्रशासनका अनुसार फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म अत्यावश्यक सेवा बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइनेछ ।

एम्बुलेन्स, दमकल, दूरसञ्चार सेवा, पानी तथा दूधका ट्याङ्कर, शव वाहन, अस्पताल र विद्युत सेवाका सवारी, कूटनीतिक नियोगका सवारी तथा अनुमति प्राप्त सवारी साधन भने सञ्चालन गर्न पाइने जनाइएको छ ।

यसैगरी निर्वाचन अवधिमा सुरक्षा संवेदनशीलता ध्यानमा राख्दै जिल्लाभर ड्रोन उडानमा पनि प्रतिबन्ध लगाइएको छ ।

फागुन १८ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म कुनै पनि प्रकारका ड्रोन सञ्चालन गर्न नपाइने प्रशासनले स्पष्ट गरेको छ ।

निषेधाज्ञा उल्लङ्घन गरी ड्रोन सञ्चालन गरेको पाइएमा प्रचलित कानूनअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण बनाउन सीमा सुरक्षामा समेत कडाइ गरिएको छ ।

प्रशासनले भारतसँग सीमा जोडिएका महोत्तरीका सबै सीमानाका फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने जनाएको छ ।

सीमा बन्द अवधिमा आवतजावतमा रोक लगाइने भए पनि अत्यावश्यक र अनुमतिप्राप्त गतिविधिलाई भने सहजीकरण गरिने बताइएको छ ।

प्रमुख जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर सुरक्षा निकायसँग समन्वय गरी आवश्यक निगरानी, चेकजाँच र व्यवस्थापनलाई थप प्रभावकारी बनाइने जनाएको छ ।

प्रशासनले नागरिक, राजनीतिक दल तथा सरोकारवालालाई सूचनाको पालना गर्दै निर्वाचनलाई सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।