जनकपुरधाम, १४ फागुन । निर्वाचन आयोगले मतदानको दिन सवारी साधन सञ्चालनमा कडाइ गर्दै आवश्यक व्यक्तिहरूलाई मात्र अनुमति दिने व्यवस्था गरेको छ ।

मतदान शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित बनाउन आयोगले सवारी पास वितरणसम्बन्धी मापदण्ड सार्वजनिक गरेको हो ।

आयोगका अनुसार मतदानका दिन अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लाग्नेछ । तर, निर्वाचन प्रक्रियामा प्रत्यक्ष संलग्न पदाधिकारी, सुरक्षाकर्मी, पर्यवेक्षक तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई भने निश्चित सर्तसहित सवारी प्रयोग गर्न अनुमति दिइनेछ ।

कसले पाउँछन् सवारी पास ?
१. उम्मेदवार तथा प्रतिनिधि

उम्मेदवार वा उनका अधिकृत प्रतिनिधिलाई आवश्यकता अनुसार सवारी पास उपलब्ध गराइनेछ । यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस आवश्यक हुनेछ ।
२. सुरक्षाकर्मी
मतदान केन्द्र तथा मतगणना स्थलको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई आवश्यकता अनुसार सवारी साधन प्रयोग गर्न छुट दिइनेछ ।
३. राष्ट्रिय पर्यवेक्षक (उपत्यकाभित्र)
उपत्यकाभित्र खटिने प्रत्येक राष्ट्रिय पर्यवेक्षक संस्थालाई बढीमा ५ वटा सवारी साधनको पास दिने व्यवस्था गरिएको छ । सिफारिस आयोगबाट हुने र पास काठमाडौंका प्रमुख जिल्ला अधिकारीले उपलब्ध गराउनेछन् ।
४. राष्ट्रिय पर्यवेक्षक (उपत्यकाबाहिर)
भौगोलिक अवस्थाअनुसार हिमाली जिल्लामा १, पहाडी जिल्लामा २ र तराईका जिल्लामा ३ वटासम्म सवारी पास प्रदान गरिनेछ । यसका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको समन्वय रहनेछ ।
५. संवैधानिक आयोगहरू
संवैधानिक आयोगका पदाधिकारी तथा कर्मचारीलाई आवश्यकता अनुसार सवारी साधन प्रयोग गर्न छुट दिइनेछ । सिफारिस सम्बन्धित आयोगबाट हुने र पास प्रमुख जिल्ला अधिकारीले जारी गर्नेछन् ।
६. संवैधानिक निकायका प्रादेशिक तथा जिल्ला कार्यालय
प्रदेश र जिल्ला तहमा रहेका संवैधानिक निकायका कार्यालयलाई पनि आवश्यकता अनुसार सवारी पास उपलब्ध गराइनेछ ।
७. कूटनीतिक नियोगका कूटनीतिक अवलोकनकर्ता
विदेशी कूटनीतिक नियोगका अवलोकनकर्तालाई आयोगको सिफारिसमा आवश्यकता अनुसार सवारी पास प्रदान गरिनेछ ।
८. आयोगबाट आमन्त्रित विशिष्ट अतिथि
आयोगले औपचारिक रूपमा आमन्त्रण गरेका विशिष्ट अतिथिहरूलाई समेत आवश्यकताअनुसार सवारी सञ्चालन अनुमति दिइनेछ ।
९. कूटनीतिक नियोगका नियमित कार्यालय प्रयोजन
कूटनीतिक नियोगका नियमित प्रशासनिक कार्यका लागि आवश्यक सवारी पास परराष्ट्र मन्त्रालयको सिफारिसमा आयोगले उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

आयोगले सवारी पासको दुरुपयोग नगर्न तथा पासविहीन सवारी चलाएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

मतदानको दिन सर्वसाधारणलाई सकेसम्म पैदल वा तोकिएको सार्वजनिक व्यवस्थामार्फत मतदान केन्द्रसम्म पुग्न आग्रह गरिएको छ ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित निकायलाई नियमको पूर्ण पालना गर्न आह्वान गर्दै शान्तिपूर्ण र मर्यादित वातावरणमा मतदान सम्पन्न गराउन सहयोग गर्न अनुरोध गरेको छ ।