जनकपुरधाम, १४ फागुन । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय प्रचारप्रसार समिति विस्तार गरेको छ ।

पार्टीले धनुषाका रमेश कुमार यादवलाई केन्द्रीय प्रचारप्रसार समितिको सदस्यमा मनोनयन गरेको जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन ललितपुरबाट जारी पत्रअनुसार निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउने तथा समानुपातिक मत वृद्धि गर्ने उद्देश्यले प्रचारप्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउन यादवलाई जिम्मेवारी दिइएको हो ।

पत्रमा प्रचारप्रसार कार्यलाई परिणाममुखी बनाउन यादवले आफ्नो सम्पूर्ण क्षमता प्रयोग गर्दै सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।

निर्वाचन नजिकिँदै जाँदा पार्टीले प्रचार संयन्त्रलाई थप सुदृढ बनाउने रणनीतिअन्तर्गत समिति विस्तार गरिएको जनाइएको छ ।

केन्द्रीय प्रचारप्रसार समितिका संयोजक तथा प्रवक्ता देवराज चालिसेले हस्ताक्षर गरेको पत्रमा पार्टीको चुनावी अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न तहमा जिम्मेवारी बाँडफाँट भइरहेको उल्लेख गरिएको छ ।

निर्वाचनको मिति नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरूले संगठन विस्तार, प्रचारप्रसार र घरदैलो कार्यक्रमलाई तीव्र बनाइरहेका छन् ।

नेपाली कांग्रेसले पनि प्रचार संयन्त्र सुदृढ गर्दै चुनावी तयारीलाई गति दिएको जनाएको छ ।