पर्सा, १४ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले पर्सा जिल्लामा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाअनुसार फागुन १५ गते शुक्रबारदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभित्र मादक पदार्थको बिक्री, वितरण र सेवनमा रोक लगाइएको हो ।

सार्वजनिक स्थानमा मदिरा सेवनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

प्रशासनका अनुसार निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै निर्वाचन आयोग नेपालको विज्ञप्ति गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रतिबन्ध लागू गरिएको हो ।

सूचनामा प्रतिबन्ध अवधिमा मदिरा बिक्री वितरण वा सेवन गरेको पाइए प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रशासनले सबै व्यवसायी तथा सर्वसाधारणलाई निर्णयको पालना गर्न आग्रह गर्दै निर्वाचन अवधिमा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न अपिल गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले हस्ताक्षर गरेको सूचनामा निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन यस्तो कदम आवश्यक रहेको उल्लेख गरिएको छ ।