जनकपुरधाम, १३ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता विमलेन्द्र निधिले स्व. महेन्द्रनारायण निधिको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय योगदान रहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा स्व. महेन्द्रनारायण निधिको १०५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता निधिले महेन्द्रनारायण निधि नेपाली कांग्रेसका स्तम्भ मात्र नभई राष्ट्रका लागि प्रेरणाको स्रोत रहेको बताए ।

उनले स्व. निधिले स्थापित गरेका लोकतान्त्रिक मूल्य–मान्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे ।

उनका अनुसार स्व. निधिको त्याग, संघर्ष र सिद्धान्तनिष्ठ राजनीतिक जीवनबाट वर्तमान पुस्ताले धेरै सिक्नुपर्ने आवश्यकता छ ।

लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र सुशासन प्रवर्द्धनका लागि सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा जिल्ला तथा प्रदेशस्तरका पार्टी नेता कार्यकर्ता, बुद्धिजीवी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

सहभागीहरूले स्व. निधिको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए ।

वक्ताहरूले स्व. महेन्द्रनारायण निधिको राजनीतिक योगदान, सामाजिक समर्पण र राष्ट्रिय एकताप्रतिको प्रतिबद्धतालाई स्मरण गर्दै उनको आदर्शलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।