‘छाता’ चिन्हमा मतदानको अपील गर्दै परमेश्वर साह चुनावी अभियानमा सक्रिय

जनकपुरधाम, १३ फागुन । धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार परमेश्वर साहको चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट उम्मेदवारी दिएका साह यतिबेला क्षेत्रका गाउँ, टोल र बस्तीमा पुगेर घरदैलो तथा जनसम्पर्क अभियानलाई सक्रिय बनाइरहेका छन् ।
अभियानका क्रममा साहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै नागरिकका दैनिक समस्या, विकासका प्राथमिकता र जनअपेक्षाबारे जानकारी लिइरहेका छन् ।
उनले क्षेत्रको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडक तथा रोजगारीका मुद्दालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा सहभागी मतदातासँग कुरा गर्दै साहले आगामी निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘छाता’मा मतदान गरी परिवर्तनको पक्षमा उभिन आग्रह गरेका छन् ।
स्थानीय स्तरका विभिन्न समस्या समाधानका लागि संसद्मा प्रभावकारी आवाज उठाउने उनले बताए ।
चुनावी अभियानमा पार्टीका केन्द्रीय, प्रदेश तथा पालिका स्तरका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति देखिएको छ ।
विभिन्न स्थानमा जनभेटघाट, छलफल र प्रचार कार्यक्रम निरन्तर जारी रहेको बताउँदै साहको टोलीले क्षेत्र नम्बर–३ मा चुनावी गतिविधि अझ सशक्त बनाउने जनाएको छ ।
क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा बढ्दै जाँदा परमेश्वर साहको सक्रियता र निरन्तर जनसम्पर्कका कारण चुनावी माहोल थप तातेको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


