सप्तरीमा होली संयमित रूपमा मनाउन अपिल, निर्वाचन अवधिभर सीमा नाका बन्द

सप्तरी, १३ फागुन । फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सप्तरी प्रशासनले होली पर्व संयमित रूपमा मनाउन आग्रह गर्नुका साथै निर्वाचन अवधिभर भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जारी गरेको सूचनामा होली पर्व र निर्वाचन एकै समयमा परेकाले आचारसंहितालाई मध्यनजर गर्दै चाडपर्व सभ्य र शान्तिपूर्ण ढंगले मनाउन जिल्लावासीसँग अपिल गरिएको छ ।
प्रशासनले कसैको इच्छा विपरीत रंग लगाउने, लोला हान्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता गतिविधि नगर्न आग्रह गरेको छ ।
प्रशासनका अनुसार निर्वाचन कार्यक्रमअनुसार मौन अवधि सुरु भइसकेको अवस्थामा ठूलो भिडभाड र अवाञ्छित गतिविधिले निर्वाचन वातावरण प्रभावित हुन सक्ने भएकाले सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको हो ।
चाडपर्वको नाममा कानुनविपरीत गतिविधि गरे/गराए कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
त्यस्तै, निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन भारतसँग सीमा जोडिएका सप्तरीका सबै नाका फागुन १९ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म बन्द रहने प्रशासनले जनाएको छ ।
सीमा नाका बन्द रहने अवधिमा आवागमन नियन्त्रण गरिने र सुरक्षा व्यवस्थालाई थप कडा बनाइने बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले जारी गरेका दुवै सूचनामार्फत निर्वाचनलाई मर्यादित बनाउन नागरिकको सहयोग आवश्यक रहेको उल्लेख गर्दै चाडपर्व र निर्वाचन दुवै शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै पक्षसँग सहकार्यको अपिल गरेका छन् ।


तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


