महोत्तरी, १३ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश संकटमा परेको बेला समाधान दिन सक्ने राजनीतिक शक्ति नेपाली कांग्रेस मात्र रहेको बताएका छन् ।

बुधबार महोत्तरीको जलेश्वरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले मुलुक राजनीतिक अस्थिरता र आर्थिक चुनौतीसँग जुधिरहेका बेला लोकतान्त्रिक अभ्यास, अनुभव र ऐतिहासिक भूमिकाका आधारमा समस्या समाधान गर्ने क्षमता कांग्रेससँग रहेको दाबी गरे ।

उनले राणाशासनको अन्त्यदेखि राजसंस्थाको अन्त्यसम्म भएका आन्दोलनमा कांग्रेस अग्रपंक्तिमा रहेको स्मरण गराउँदै सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियामार्फत माओवादी शक्तिलाई मूलधारमा ल्याउन पनि कांग्रेसले निर्णायक भूमिका खेलेको बताए ।

चुनावी सभाअघि नेता शर्माले जलेश्वरस्थित शहीद पार्क पुगेर शहीदहरूको स्मारकमा माल्यार्पण गरेका थिए ।

शहीदहरूको बलिदानकै कारण मुलुकमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको उल्लेख गर्दै उनले लोकतन्त्रको रक्षा र सुदृढीकरण सबै राजनीतिक शक्ति र नागरिकको साझा जिम्मेवारी भएको बताए ।

शर्माले पछिल्लो समय युवापुस्तामा देखिएको असन्तुष्टि र उठिरहेका प्रश्नलाई गम्भीर रूपमा लिनुपर्ने धारणा राखे ।

पार्टीभित्र रूपान्तरणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै उनले अहिले कांग्रेसमा युवापुस्ताको सक्रिय उपस्थिति र नेतृत्व बढ्नु सकारात्मक संकेत भएको बताए ।

कांग्रेस अब विकास, सुशासन र आर्थिक समृद्धिको स्पष्ट एजेन्डासहित अघि बढ्ने उनको भनाइ छ ।

चुनावी सभामा उनले उम्मेदवारहरूले मत माग्दा गरेका प्रतिबद्धता कार्यान्वयन भए/नभएको विषय पार्टीको केन्द्रीय कार्यालयबाट अनुगमन गरिने स्पष्ट पारे ।

नेता शर्माले जनविश्वास कायम राख्न वाचा अनुसार काम गर्ने संस्कृतिलाई संस्थागत गर्नुपर्नेमा जोड दिए ।