जनकपुरधाम, १३ फागुन । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन केन्द्रित प्रचार अभियान सुदृढ बनाउन केन्द्रीय प्रचारप्रसार समितिमा नयाँ सदस्य थपेको छ ।

पार्टीले महोत्तरीका डा. सज्जन ठाकुरलाई समितिको सदस्यमा मनोनयन गरेको हो ।

पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनबाट जारी पत्रमार्फत ठाकुरलाई उक्त जिम्मेवारी प्रदान गरिएको जानकारी दिइएको छ ।

कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी बनाउन तथा समानुपातिक मत वृद्धि गर्ने लक्ष्यसहित प्रचारप्रसार कार्यक्रमलाई प्रभावकारी, समन्वयात्मक र व्यवस्थित बनाउने उद्देश्यले समितिको विस्तार गरेको जनाएको छ ।

पत्रमा प्रचार अभियानलाई परिणाममुखी बनाउन सक्रिय भूमिका निर्वाह गर्न ठाकुरसँग अपेक्षा गरिएको उल्लेख छ ।

निर्वाचन नजिकिँदै जाँदा पार्टीले संगठन विस्तारसँगै प्रचार संयन्त्रलाई मजबुत बनाउने रणनीति अपनाएको देखिन्छ।

कांग्रेसका प्रवक्ता तथा केन्द्रीय प्रचारप्रसार समितिका संयोजक देवराज चालिसेले जिम्मेवारी दिँदै प्रचार अभियानमा पूर्ण क्षमताका साथ सक्रिय हुन आग्रह गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र पारिरहेका प्रमुख दलहरूले प्रचार संरचना विस्तार गरिरहेका बेला कांग्रेसले पनि केन्द्रीय तहबाट अभियान व्यवस्थापनलाई प्राथमिकता दिएको छ।