विकासको निरन्तरतामा जोड दिँदै जुलीको घरदैलो तीव्र

जनकपुरधाम, १३ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी सरगर्मी बढ्दै जाँदा जुलीकुमारी महतोले परिवर्तनको नारा दिने दल र उम्मेदवारप्रति कडा टिप्पणी गर्दै विकासको निरन्तरताका लागि मतदाताको साथ मागेकी छन् ।
जनकपुरधाम आसपासका विभिन्न बस्तीमा घरदैलो अभियान चलाउँदै महतोले नयाँ पुरानोको नारा दिएर मतदातालाई भ्रमित पार्ने प्रयास भइरहेको आरोप लगाइन् ।
धनौजी गाउँपालिकामा मतदातासँग भेटघाटका क्रममा उनले सांसद बन्नकै लागि परिवर्तनका झुटा नारा दिइँदै आएको भन्दै अप्रत्यक्ष रूपमा प्रतिस्पर्धी उम्मेदवारतर्फ संकेत गरिन् ।
महतोले मतदाताले विकासको एजेण्डालाई प्राथमिकता दिएको दाबी गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ‘सुखी नेपाली, समृद्ध नेपाल’ अभियानप्रति जनताको विश्वास बढिरहेको बताइन् ।
व्यवस्था परिवर्तनको बहसभन्दा विकासका कामलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिइन् ।
घरदैलो अभियानका क्रममा उनले स्थानीयका समस्या, गुनासा र सुझाव सुन्दै समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानुपरेकाले केही विकास योजना अधुरा रहेको उल्लेख गर्दै ती योजनालाई पूर्णता दिन पुनः अवसर दिन मतदातासँग आग्रह गरिन् ।
महतोले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आफूले विशेष पहल गरेको दाबी गरिन् ।
नयाँ राजनीतिक दलहरूले स्पष्ट नीति र दृष्टिकोणविना पुराना दलप्रति वितृष्णा फैलाउने प्रयास गरिरहेको आरोप लगाउँदै उनले संविधान रक्षा, राष्ट्रिय स्वाधीनता र विकासको एजेण्डामा एमाले अडिग रहेको बताइन् ।
मधेसको विकासका लागि एमाले नेतृत्वकै सरकारले महत्वपूर्ण योजनाहरू अघि बढाएको स्मरण गराउँदै उनले धनुषा–३ मा सुरु भएका अधुरा काम पूरा गर्न आफू प्रतिबद्ध रहेको दोहोर्याइन् ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


