जनकपुरधाम, १३ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विमलेन्द्र निधिले कांग्रेसभित्र अहिले कुनै ठूलो विवाद वा मतभेद नरहेको बताएका छन् ।

उनले वर्तमान परिस्थितिमा नेपाली कांग्रेसमा नयाँ जोश, ऊर्जा र एकताको वातावरण देखिएको दाबी गरेका हुन् ।

जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै निधिले फागुन ६ गते आयोजित आमसभालाई कांग्रेसका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।

उनका अनुसार विशाल जनसहभागितासहित सम्पन्न भएको उक्त आमसभाले पार्टीको संगठनात्मक मजबुती र जनविश्वास दुवै झल्काएको छ ।

‘अहिलेको अवस्था राम्रो छ । आमसभाले कांग्रेसप्रति जनताको विश्वास बढेको सन्देश दिएको छ,’ उनले भने ।

निधिले पार्टीको नयाँ नेतृत्वले लिएको दिशा र युवा पुस्ताको सक्रियता कांग्रेसका लागि महत्वपूर्ण अवसर भएको बताए ।

उनले कांग्रेस महामन्त्री गगन कुमार थापाको नेतृत्वमा देखिएको युवा ऊर्जा र परिवर्तनको सन्देशलाई सकारात्मक रूपमा लिएको उल्लेख गरे ।

उनका अनुसार युवा नेतृत्वको सक्रियताले पार्टीभित्र उत्साह थपिएको छ । यसले चुनावी अभियानमा पनि प्रभाव पारेको छ ।

उनले देशभर कांग्रेसमा आन्तरिक एकता बलियो बन्दै गएको दाबी गर्दै उम्मेदवार चयन प्रक्रिया, चुनावी रणनीति र जनताको राजनीतिक बुझाइ कांग्रेसका पक्षमा रहेको बताए ।

‘उम्मेदवार चयनदेखि चुनावी माहोलसम्म हेर्दा कांग्रेस बलियो स्थितिमा छ,’ उनले भने, ‘यी आधारमा कांग्रेसले बहुमत प्राप्त गर्ने र कांग्रेसकै नेतृत्वमा सरकार बन्ने विश्वास छ ।’

निधिका अनुसार विगतमा देखिएका केही आन्तरिक मतभेदलाई समाधान गर्ने प्रयास जारी छ ।

उनले मतभेदलाई संवाद र समन्वयमार्फत व्यवस्थापन गर्न आफूले व्यक्तिगत रूपमा पनि भूमिका निर्वाह गरिरहेको बताए ।

‘आन्तरिक मतभेदलाई समेट्ने काममा म सक्रिय छु र त्यसमा सकारात्मक परिणाम पनि देखिएको छ,’ उनले थपे ।

मधेशमा चुनावी गतिविधि तीव्र बन्दै जाँदा कांग्रेसले संगठन विस्तार, घरदैलो कार्यक्रम र जनसंपर्कलाई प्राथमिकतामा राखेको निधिले बताए ।

उनका अनुसार स्थानीय मुद्दा, विकासको एजेन्डा र राजनीतिक स्थायित्वको सन्देशसहित कांग्रेस चुनावी मैदानमा उत्रिएको छ ।

मधेशमा कांग्रेस, एमाले र अन्य दलबीच प्रतिस्पर्धा तीव्र देखिए पनि कांग्रेसले एकता र संगठनात्मक सुदृढीकरणलाई मुख्य रणनीति बनाएको छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले मतदातासँग प्रत्यक्ष संवाद बढाउने, युवालाई जोड्ने र विकासका कार्यक्रमलाई केन्द्रमा राख्ने रणनीति अघि सारेको निधिले बताए ।

उनले जनताको विश्वास जित्न सके कांग्रेसले स्थिर सरकार दिने दाबी गरे ।