जनकपुरधाम, १३ फागुन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी गतिविधि तीव्र बनिरहेको बीच पार्टी सभापति लामिछाने मंगलबार जनकपुरधाम आइपुगेका छन् ।

इटहरीमा आयोजित कार्यक्रम सम्पन्न गरी लहान, मिर्चैया र ढल्केवर हुँदै उनी जनकपुरधाम पुगेका हुन् ।

जनकपुरधाम आइपुगेपछि उनले प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा पूजाआजा तथा दर्शन गरेका थिए ।

दर्शनपछि लामिछानेले धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झासँग भेटवार्ता गरेका छन् ।

भेटमा चुनावी रणनीति, क्षेत्रका विकासका प्राथमिकता र मतदातासँगको संवादलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको पार्टी स्रोतले जनाएको छ ।

भेटपछि लामिछाने र झा केही समय जनकपुरधाम बजार क्षेत्रमा मतदातासँग भेटघाटमा समेत सहभागी भएका थिए ।

जनकपुरधाम भ्रमणका क्रममा लामिछानेले रामजानकी अन्तर्राष्ट्रिय रंगशाला लगायतका पूर्वाधार, धार्मिक पर्यटन र क्षेत्रीय विकासका सम्भावनाबारे चासो व्यक्त गरेका छन् ।

उनले मधेशसहित देशभर न्याय, सुशासन र पारदर्शिताको मुद्दामा कसैसँग नडराई अघि बढ्ने बताए ।

‘सही इतिहास लेख्न र नागरिकलाई न्याय दिलाउन कसैसँग डराउनु पर्दैन,’ उनले भने ।

लामिछानेको जनकपुरधाम बसाइ छोटो रहे पनि यसलाई रास्वपाको मधेश केन्द्रित चुनावी अभियानको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।

जनकपुरधामबाट फर्किएपछि उनी बर्दिबास, सर्लाही, बारा र पर्सामा कार्यक्रम गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।