‘जय घण्टी’ जनताको अभिवादन बन्यो, परिवर्तन निश्चित : मनिष झा

जनकपुरधाम, १२ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मनिष झाले ‘जय घण्टी’ अहिले जनताको अभिवादनकै रूपमा स्थापित हुँदै गएको बताएका छन् ।
घरदैलो अभियानका क्रममा मतदाताले स्वतःस्फूर्त रूपमा ‘जय घण्टी’ भन्दै स्वागत गर्न थालेपछि देशमा परिवर्तनको संकेत देखिएको उनले दाबी गरे ।
जनकपुरधाममा आयोजित भेटघाट तथा घरदैलो कार्यक्रमका क्रममा उनले परिवर्तनको माहोल बलियो बन्दै गएको बताए ।
मतदाताको उत्साहले आफूलाई थप जिम्मेवार बनाएको उल्लेख गर्दै झाले भने, ‘मन्दिरमा भगवानलाई जगाउन घण्टी बजाएजस्तै घण्टीको आवाजले जनतालाई जागृत बनाएको छ ।’
उनका अनुसार यसपटकको निर्वाचनमा मतदाता सचेत भइसकेकाले परिणाम पनि परिवर्तनमुखी हुने निश्चित छ ।
जातीयता वा पारिवारिक स्वार्थभन्दा माथि उठेर देशको समृद्धि, सार्वजनिक सेवामा सुधार र सुशासनलाई केन्द्रमा राखेर राजनीति अघि बढाउनुपर्ने उनले जोड दिए ।
मंगलबार उम्मेदवार झा धनुषा–३ अन्तर्गत मुखियापट्टी मुसहरनिया र तुल्सियाहीमा घरदैलो अभियानमा पुगेका थिए ।
स्थानीय बासिन्दाले न्यानो स्वागत गर्दै विकास र सुशासनसम्बन्धी अपेक्षा राखेका थिए ।
यसअघि मंगलबार नै झाले जनकपुरधामस्थित बार एसोसिएसनमा अधिवक्ताहरूसँग अन्तरक्रिया गर्दै कानुनी शासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


