पोखरीमा डुबेर युवकको मृत्यु

सप्तरी, १२ फागुन । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर-७ मा मङ्गलबार बिहान १८ वर्षीय अङ्गदकुमार मेहतरको पोखरीमा डुबेर मृत्यु भएको छ ।
परिवारका अनुसार मेहतर दुई दिनअघि आइतबार भारतको विहार राज्य अन्तर्गत पर्ने भिमनगरतिर जानु पर्ने भन्दै घरबाट निस्किएका थिए ।
मङ्गलबार बिहान ६ बजेतिर सोही वडामा रहेको तुरन्ती पोखरीमा उनको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी निरीक्षक प्रमोद साहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सप्तरीको टोली घटनास्थल पुगेको थियो । गोताखोरको सहयोगमा शव पोखरीबाट निकालिएको र मृतकका आफन्तले सनाखत गरेको बताइएको छ ।
शव पोस्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक अङ्गदकुमार छारेरोगबाट पीडित रहेको खुलेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


