सर्लाही, १२ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीका उम्मेदवारहरू निर्वाचन खर्च व्यवस्थापनसम्बन्धी नियम पालना गर्न उदासीन देखिएका छन् ।

प्रचार प्रसार खर्च पारदर्शी बनाउन छुट्टै बैंक खाता खोल्नुपर्ने व्यवस्था भए पनि अधिकांश उम्मेदवारले हालसम्म खाता खोलेको विवरण बुझाएका छैनन् ।

निर्वाचन आयोग नेपालको निर्देशनअनुसार प्रत्येक उम्मेदवारले निर्वाचनसम्बन्धी आम्दानी र खर्च अलग बैंक खातामार्फत गर्नुपर्ने हुन्छ । तर, जिल्लामा कायम १३१ उम्मेदवारमध्ये सोमबारसम्म जम्मा १९ जनाले मात्र बैंक खाता खोलेको प्रमाण पेस गरेका छन् ।

जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार सर्लाहीमा २६ राजनीतिक दल र स्वतन्त्र गरी १३१ जनाको उम्मेदवारी दर्ता भएको छ । तीमध्ये ७६ जनाले बैंक खाता खोल्न आवश्यक सिफारिस लिइसके पनि अधिकांश उम्मेदवारले खाता खोल्ने र विवरण बुझाउने प्रक्रियामा ढिलाइ गरिरहेका छन् ।

उनका अनुसार उम्मेदवारहरूलाई समयमै बैंक खाता खोल्न फोनमार्फत पटक पटक स्मरण गराइँदै आएको छ । आयोगको निर्देशिकाअनुसार निर्धारित समयभित्र खाता नखोली निर्वाचन खर्च गरे नियम उल्लङ्घन हुने स्पष्ट व्यवस्था रहेको छ ।

निर्वाचन खर्च पारदर्शी बनाउन बैंक खातामार्फत मात्र कारोबार गर्नुपर्ने प्रावधान प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा जिल्लामा अनुगमन चुनौतीपूर्ण बन्ने चिन्ता सरोकारवालाले व्यक्त गरेका छन् ।