रौतहट, १२ फागुन । रौतहटको सदरमुकामस्थित गौर नगरपालिका–६ सबगढामा भएको साम्प्रदायिक तनाव र तोडफोड घटनामा संलग्न रहेको आरोपमा २२ जनाविरुद्ध आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनामा नाम जोडिएका शेख जमशैद र वडा नं. ६ का वडाध्यक्ष अबधविहारी साहलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा जिम्मा जमानीमा रिहा गरिएको छ ।

कार्यालयका प्रवक्ता एवं डीएसपी विष्णुप्रदीप वस्यालका अनुसार सबगढा घटनालाई चर्काएर तोडफोडमा संलग्न रहेको आरोपमा शुभनारायण साह र समिर मियाँलाई पक्राउ गरिएको छ ।

पक्राउ परेका दुई जनासहित कुल २२ जनाविरुद्ध मुद्दा दर्ता गरी सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिम्मा जमानीमा रिहा गरिएका जमशैद र वडाध्यक्ष साहसहित तीन जनाको मोबाइल नियन्त्रणमा लिएर परीक्षणका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ । परीक्षणबाट दोष पुष्टि हुने प्रमाण फेला परे कानुनअनुसार थप कारबाही गरिने डीएसपी वस्यालले बताए ।

घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा खोजी कार्य जारी रहेको सुरक्षा निकायले जनाएको छ । प्रशासनले शान्ति सुरक्षा कायम राख्न सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ ।

मुद्दा दर्ता गरिएकामा शेख अलियास, शेख अरमान, रितेश कुमार राम, रितिक कुमार यादव, दिपेन्द्र चन्द्रवंशी, विनोद कुमार साह, शेख रहमतुल्लाह, शेख मैनुदिन, अब्दुल रुमान, दिपलाल पासवान, ललन साह, शेख निराले, शेख सागिर, अहमद राजा, सर्फुदिन अन्सारी, अफरोज महम्मद, दिपक कुशवाहा, अब्दुल समिर, बिहान साह र महम्मद कैफलगायत रहेका छन् ।

के थियो घटना ?
गत बिहीबार राति विवाहको जन्ती बाजा बजाउँदै सबगढा प्रवेश गर्ने क्रममा मस्जिद अगाडिबाट गुज्रिएको थियो । नमाज पढिरहेको समयमा बाजा बजाइएको विषयलाई लिएर डिजे समूह र स्थानीय मुस्लिम समुदायबीच विवाद सुरु भएको र त्यसपछि झडप, तोडफोड तथा तनावको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।