रेल्वे ट्र्याक वरपर खाल्डाखुल्डी बढेपछि मर्मतको माग

जनकपुरधाम, १२ फागुन । भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेश अन्तर्गतको पूर्वाधार विकास निर्देशनालयले नेपाल रेल्वे कम्पनीलाई रेल्वे ट्र्याक आसपासका सडकमा देखिएको खाल्डाखुल्डी तत्काल मर्मत गर्न आग्रह गरेको छ ।
निर्देशनालयले पत्र पठाउँदै जनकपुर–जयनगर रेल्वे ट्र्याकको विभिन्न क्रसिङ क्षेत्रमा सडक बिग्रिएको र सवारी आवतजावतमा समस्या भएको भन्दै जनगुनासो बढेको उल्लेख गरेको छ ।
सोही आधारमा सम्बन्धित स्थानमा मर्मत सम्भार गर्न कम्पनीलाई अनुरोध गरिएको हो ।
पत्रमा तत्काल मर्मत सम्भव नभए निर्देशनालयलाई मर्मत कार्य गर्न सहमति प्रदान गर्न समेत आग्रह गरिएको छ ।
निर्देशनालयका अनुसार मुख्य रूपमा चार स्थानमा सडक क्षति देखिएको छ । तीमध्ये मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिको सडक, मिल्स एरियाबाट बेंगाशिवपुर जाने सडक, थापा चोकदेखि दक्षिण बाह्र विघा जाने र पिराडी चोकबाट रामानन्द चोक जाने सडक रहेका छन् ।
स्थानीयले रेल क्रसिङ आसपास सडक भत्किँदा दुर्घटनाको जोखिम बढेको, यातायातमा ढिलाइ भएको तथा दैनिक आवागमन प्रभावित भएको गुनासो गर्दै आएका छन् ।
निर्देशनालयले सम्बन्धित निकायबीच समन्वय गरी शीघ्र मर्मत कार्य अघि बढाउन जोड दिएको छ ।
रेल सेवा सञ्चालनसँगै शहरी सडक संरचना सुरक्षित र व्यवस्थित राख्नुपर्ने आवश्यकता बढ्दै गएको भन्दै सरोकारवालाले पनि छिटो मर्मत कार्य सुरु गर्न माग गरेका छन् ।
सम्बन्धित सडकहरू जनकपुरधामका प्रमुख आवागमन मार्ग मानिन्छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


