महोत्तरी, १२ फागुन । महोत्तरी जिल्लामा आयोजित मिथिला माध्यमिकी परिक्रमा–२०८२ निर्धारित रुट र समयतालिका अनुसार अनुशासित तथा व्यवस्थित रूपमा सम्पन्न भएको छ ।

जिल्ला प्रशासन कार्यालयले मंगलबार धन्यवाद ज्ञापन जारी गर्दै परिक्रमा सफल बनाउन सहयोग गर्ने सबै पक्षप्रति आभार व्यक्त गरेको हो ।

प्रशासनका अनुसार परिक्रमा फागुन ७ गते मटिहानीबाट प्रवेश गरी विभिन्न पडाव पार गर्दै जलेश्वर, मडै र ध्रुवकुण्ड हुँदै फागुन ११ गते कञ्चनवनमा विशेष होली उत्सव सम्पन्न भएपछि धनुषा तर्फ प्रस्थान गरेको थियो ।

धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको पदयात्रा यस वर्ष हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।

प्रशासनले सुरक्षालाई प्राथमिकतामा राख्दै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाएको उल्लेख गरेको छ ।

यस्तै, मटिहानी, जलेश्वर, बलवा, लोहारपट्टी, भँगहा नगरपालिका तथा महोत्तरी गाउँपालिकाले सरसफाइ, खानेपानी, अस्थायी शौचालय र स्वास्थ्य शिविर सञ्चालनमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

राजनीतिक दल तथा भातृ संगठनहरूले परिक्रमाको धार्मिक संवेदनशीलतालाई ध्यानमा राखी आफ्ना गतिविधि मर्यादित राख्दै सहयोग गरेको प्रशासनको भनाइ छ ।

सञ्चारकर्मी र सञ्चार माध्यमले परिक्रमाको महत्त्व जनमानससम्म पुर्‍याउन र प्रशासनिक सूचनाहरू प्रभावकारी रूपमा प्रसारण गर्न योगदान दिएको भन्दै धन्यवाद दिइएको छ ।

स्वास्थ्य सेवातर्फ प्रादेशिक अस्पताल जलेश्वर तथा स्थानीय स्वास्थ्य संस्थाले २४ घण्टा आकस्मिक सेवा र औषधि उपलब्ध गराएका थिए भने सडक मर्मत र विद्युत् आपूर्तिमा सम्बन्धित निकायले सहकार्य गरेको प्रशासनले जनाएको छ ।

धार्मिक संस्था, व्यवस्थापन समिति र स्वयंसेवकहरूले पदयात्रीको सेवा व्यवस्थापनमा सक्रिय भूमिका खेलेका थिए ।

रुट क्षेत्रमा मासु तथा मदिरा निषेधको पालना गर्दै बजार व्यवस्थापनमा सहयोग गर्ने उद्योगी, व्यापारी तथा स्थानीय नागरिकलाई पनि प्रशासनले धन्यवाद दिएको छ ।

जिल्ला प्रशासन कार्यालयले धार्मिक पवित्रता र अनुशासनलाई प्राथमिकता दिँदै परिक्रमा सम्पन्न गर्न सहयोग गर्ने सबै धर्मावलम्बी तथा राजनीतिक दलप्रति आभार व्यक्त गर्दै आगामी सांस्कृतिक पर्वहरूमा पनि यस्तै सद्भाव र सहकार्यका लागि आह्वान गरेको छ ।