जनकपुरधाम, १२ फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुलीकुमारी महतोले विकास र समृद्धिका लागि स्पष्ट नीति तथा योजना भएको दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) मात्र रहेको बताएकी छन् ।

मंगलबार जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा आयोजित घरदैलो अभियानका क्रममा उनले एमालेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ नाराले नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको उल्लेख गरिन् ।

एमाले नेतृत्वमै मुलुक आर्थिक तथा भौतिक विकासको दिशामा अघि बढ्ने उनको दाबी थियो ।

घरदैलो अभियानका क्रममा महतोले धनुषा जिल्ला सहित समग्र मधेश प्रदेशको विकासका लागि एमालेसँग ठोस कार्ययोजना रहेको बताइन् ।

रेलमार्ग विस्तार, जनकपुरधामलाई वैवाहिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना, महेन्द्र राजमार्गलाई चार लेनमा स्तरोन्नति गर्ने परियोजनाजस्ता कार्यक्रम एमालेकै पहलमा अघि बढेको उनले स्मरण गराइन् ।

उनले शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणका क्षेत्रमा एमाले नेतृत्वमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएको दाबी गर्दै आगामी दिनमा ती क्षेत्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाइन् ।

संविधान निर्माण, लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्रिय स्वाभिमानको सवालमा एमालेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितमा अडिग रहने दल एमाले मात्र भएको जिकिर गरिन् ।

घरदैलो अभियानका क्रममा स्थानीय मतदाताबाट सकारात्मक प्रतिक्रिया र सहयोग प्राप्त भइरहेको बताउँदै महतोले आफूलाई जनताको विश्वासले उत्साहित बनाएको प्रतिक्रिया दिइन् ।