जनकपुरधाम, १२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि तीव्र बनेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको पक्षमा इन्जिनियरहरू खुलेर समर्थन जनाएका छन् ।

नेपाली कांग्रेसको चुनावी अभियान अन्तर्गत इन्जिनियरहरूको संस्थाले जनकपुरधामस्थित अन्नपूर्ण होटलमा वृहत संवाद कार्यक्रम आयोजना गर्दै निधिलाई मतदान गर्न आह्वान गरेको हो ।

कार्यक्रममा विकास निर्माण, पूर्वाधार विस्तार र प्राविधिक दृष्टिकोणबाट क्षेत्रको समग्र उन्नतिका विषयमा छलफल गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा सिडेनका केन्द्रीय अध्यक्ष इन्जिनियर रबी भूषण झाको प्रमुख उपस्थिति रहेको थियो । उनले प्राविधिक क्षेत्रसँग सम्बन्धित नीतिगत सुधार, गुणस्तरीय पूर्वाधार निर्माण तथा दक्ष जनशक्तिको उपयोगमा राजनीतिक नेतृत्वको भूमिका महत्वपूर्ण हुने बताए ।

संवाद कार्यक्रममा सहभागी इन्जिनियरहरूले जनकपुरधाम तथा धनुषा–३ मा सडक, खानेपानी, शहरी विकास र दीर्घकालीन पूर्वाधार योजना कार्यान्वयनका लागि अनुभवी नेतृत्व आवश्यक रहेको धारणा राख्दै निधिको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको बताएका थिए ।

नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको पनि उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा चुनावी वातावरणलाई प्राविधिक दृष्टिकोणबाट जोड्ने प्रयास गरिएको आयोजकको भनाइ छ ।

धनुषा–३ मा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा बढिरहेका बेला प्राविधिक क्षेत्रबाट देखिएको समर्थनलाई निधिको चुनावी अभियानका लागि अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ ।