ट्राफिक नियम पालनाबारे धनुषाका विद्यार्थीलाई व्यवहारिक प्रशिक्षण

जनकपुरधाम, ११ फागुन । बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना वृद्धि भइरहेका बेला धनुषाका विभिन्न विद्यालयमा युवालाई लक्षित गर्दै ‘सवारी दुर्घटना विरुद्ध युवा २०८२’ कार्यक्रम सम्पन्न गरिएको छ ।
सोमबार धनुषा जिल्लाभित्र रहेका सरकारी, अर्धसरकारी तथा गैरसरकारी विद्यालयहरूमा सञ्चालन गरिएको कार्यक्रमले सडक सुरक्षासम्बन्धी सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।
युवापुस्ताले ट्राफिक नियम पालना र जिम्मेवार सडक व्यवहार अपनाएमा दुर्घटना न्यूनीकरणमा उल्लेखनीय सहयोग पुग्ने विश्वासका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
बढ्दो सवारी चाप र दुर्घटनाका घटनालाई मध्यनजर गर्दै विद्यार्थी र शिक्षकलाई लक्षित गरी सचेतनामूलक सन्देश प्रवाह गरिएको आयोजक पक्षको भनाइ छ ।
कार्यक्रममा सडक अनुशासन, जिम्मेवार व्यवहार, सडक सुरक्षा, रक्षात्मक सडक प्रयोगसम्बन्धी सीप, डिफेन्सिभ ड्राइभिङ, ब्रेकिङ दूरीको अवधारणा, हेल्मेट तथा सिटबेल्ट प्रयोगको महत्व लगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो ।
सहभागीहरूलाई दुर्घटना हुन नदिन अपनाउनुपर्ने व्यवहारिक उपायबारे समेत जानकारी गराइएको थियो ।
आयोजकका अनुसार कार्यक्रमबाट करिब १ हजार ४५० जना शिक्षक तथा विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
विद्यालयस्तरबाटै सडक सुरक्षाबारे चेतना फैलाउँदा दीर्घकालीन रूपमा दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


