पर्सा, ११ फागुन । वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुरमा आइतबार बेलुकी घटेको विवादास्पद घटनापछि स्थानीय प्रशासनले कडा निर्णय लिएको छ ।

जिल्ला प्रशासन कार्यालयको बैठकमा आगामी कदमहरू स्पष्ट गरिएको हो ।

घटना सम्बन्धी दोषी पक्षलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन पीडितको जाहेरी लिइ प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ । यसमा धार्मिक अगुवाहरूले पनि सहजीकरण गर्ने छन् ।

त्यस्तै, व्यक्तिगत घटना वा दुर्घटनालाई लिएर सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्‍याउने, दुष्प्रचार गर्ने, सामाजिक सञ्जालमा भाइरल बनाउने वा हेट स्पीच फैलाउने व्यक्ति वा समूहलाई साइबर कानुन तथा प्रचलित कानुन अनुसार तत्काल कारबाही गरिने पनि निर्णयमा उल्लेख छ ।

बैठकमा उपस्थित नागरिक समाज, राजनीतिक दल, मिडियाकर्मी, धार्मिक र सामाजिक अगुवाहरूलाई आ-आफ्नो निकायबाट विज्ञप्ति प्रकाशन गरी धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अनुरोध गरिएको छ ।

प्रशासनले नागरिकहरूलाई संयमित व्यवहार र शान्तिपूर्ण समाजिक सहअस्तित्वमा सहयोग पुर्‍याउनसमेत आग्रह गरेको छ ।