जनकपुरधाम–१६ मा परमेश्वर साहको घरदैलो सम्पन्न

जनकपुरधाम, ११ फागुन । धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार परमेश्वर साहले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
चुनावी माहोल तात्दै जाँदा साहले स्थानीय बस्ती, टोल तथा समुदायमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार साहले आफूलाई जनताले दिएको विश्वासलाई विकासमार्फत प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।
सडक, खानेपानी, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए ।
‘स्थानीय समस्या स्थानीय तहबाटै समाधान हुनुपर्छ, त्यसका लागि नीति र स्रोत दुबै सुनिश्चित गरिनेछ,’ साहले मतदातामाझ भने ।
कार्यक्रममा पार्टीका स्थानीय नेता कार्यकर्ता, युवाहरू तथा महिला समूहको उल्लेख्य सहभागिता देखिएको थियो ।
सहभागीहरूले क्षेत्रको पूर्वाधार विकास, बेरोजगारी र कृषि क्षेत्रका समस्याबारे उम्मेदवारलाई ध्यानाकर्षण गराएका थिए ।
जवाफमा साहले युवालाई सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम तथा कृषि उत्पादनलाई बजारसँग जोड्ने योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
साहले मधेशको पहिचान, भाषा र संस्कृतिको संरक्षणसँगै आर्थिक सशक्तीकरणलाई चुनावी एजेन्डाको केन्द्रमा राखेको बताए ।

उनले संघीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै प्रदेश र स्थानीय तहबीच समन्वय बढाउनुपर्नेमा जोड दिए ।
‘विकासको अनुभूति जनताले प्रत्यक्ष महसुस गर्ने गरी काम गर्नुपर्छ, त्यसका लागि पारदर्शी र जवाफदेही नेतृत्व आवश्यक छ,’ उनले भने ।
घरदैलोका क्रममा स्थानीय बासिन्दाले सडक स्तरोन्नति, ढल निकास व्यवस्थापन, विद्यालय सुधार तथा स्वास्थ्य संस्थामा जनशक्ति अभावको विषय उठाएका थिए । उम्मेदवार साहले यी समस्या प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिए ।
पार्टीका स्थानीय नेताहरूले साहको उम्मेदवारीलाई क्षेत्रको विकाससँग जोडिएको भन्दै समर्थन गर्न आग्रह गरे । उनीहरूले विगतमा अधुरा रहेका योजनालाई पूर्णता दिने र नयाँ विकास परियोजना अघि बढाउने दाबी गरे ।
निर्वाचन नजिकिँदै जाँदा धनुषा क्षेत्र नं. ३ मा चुनावी गतिविधि तीव्र बनेको छ ।
विभिन्न दलका उम्मेदवारले घरदैलो, कोणसभा तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिँदै मतदाता आकर्षित गर्ने प्रयास गरिरहेका छन् ।
यस्तो अवस्थामा जसपा नेपालका उम्मेदवार साहले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने रणनीति अपनाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


