मधेश रूपान्तरण र जनकपुरधामको विकास निधिको प्राथमिकतामा

जनकपुरधाम, ११ फागुन । प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै धनुषा क्षेत्र नम्बर–३ का उम्मेदवार विमलेन्द्र निधिले लोकतन्त्रको पुनःउत्थान, प्रदेश सुदृढीकरण र जनकपुरधाम केन्द्रित विकासलाई प्राथमिकतामा राख्दै आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्रमार्फत उनले मधेशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् ।
निधिले विगतका वर्षमा कमजोर बनेको लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न प्रशासनिक प्रणाली सुधार, संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने तथा प्रदेशलाई अधिकार सम्पन्न बनाउने योजना अघि सारेका छन् ।
उनले युवा पुस्ताको सहभागिता र नेतृत्व सुदृढीकरणमार्फत मधेशको विकासलाई तीव्रता दिने बताएका छन् ।
जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने योजनालाई प्राथमिकतामा राख्दै निधिले सरसफाइ, सौन्दर्यीकरण र आधुनिक पूर्वाधार विस्तार गर्ने लक्ष्य व्यक्त गरेका छन् ।
यसै सन्दर्भमा उनले जनकपुरधाम लाई क्षेत्रीय पर्यटन हब बनाउने, धनुषाधाम, जलेश्वर र भारतको अयोध्या सँग धार्मिक–सांस्कृतिक सम्पर्क विस्तार गर्ने योजना अघि सारेका छन् ।
उनले डिजेलमा सञ्चालन हुँदै आएको रेल सेवालाई विद्युतमा रूपान्तरण गर्ने, जनकपुरधाम–अयोध्या बीच हवाई सेवा सञ्चालन गर्ने तथा राजर्षि जनक विश्वविद्यालयको विस्तार र प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
खेलकुद पूर्वाधार सुदृढीकरणका लागि रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला निर्माण तथा सञ्चालनलाई समेत प्राथमिकतामा राखिएको छ ।
युवालाई लक्षित गर्दै रोजगारी सिर्जना, लागुऔषध दुव्र्यसनमा परेका युवाका लागि सुधार केन्द्र स्थापना र महिला तथा बालबालिकाको स्वास्थ्य सेवामा पहुँच बढाउन तीन–तीन वटा प्रसूति तथा बाल अस्पताल स्थापना गर्ने योजना उनले अघि सारेका छन् ।
खानेपानी समस्या समाधान, कृषि क्षेत्रमा सिंचाइ विस्तार र किसानलाई सहज आपूर्ति सुनिश्चित गर्न मल कारखाना सञ्चालन गर्ने प्रतिबद्धता पनि निधिले व्यक्त गरेका छन् ।
आर्थिक क्षेत्रमा सुधारका लागि ऋण प्राप्तिको जटिल प्रक्रिया हटाएर आधुनिक प्रविधिमा आधारित प्रणाली लागू गर्ने, उद्योग–व्यवसाय दर्ता तथा कर प्रणाली सरल बनाउने तथा श्रमिकका लागि विश्रामस्थल निर्माण गर्ने योजना समेटिएको छ ।
उनले स्मार्ट सिटी, स्मार्ट भिलेज र स्मार्ट बस्ती विकास कार्यक्रममार्फत शहरीकरणलाई व्यवस्थित बनाउने बताएका छन् ।
सांस्कृतिक तथा सार्वजनिक पूर्वाधार विकासतर्फ पार्क, सांस्कृतिक स्तम्भ र विज्ञान प्रदर्शनी केन्द्र स्थापना गर्ने तथा रंगभूमि (बाह्रविघा) को स्तरोन्नति गर्ने योजना पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।
निधिले प्रदेश राजधानीलाई अधिकार सम्पन्न बनाउने र स्थानीय तहसँग सहकार्य गर्दै समग्र क्षेत्रको सर्वांगीण विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्क र संवादमा रहने प्रतिबद्धता जनाउँदै उनले मधेशको समावेशी विकासका लागि आफू प्रतिबद्ध रहेको दोहोर्याएका छन् ।
उनले मतदातासँग विकास, सुशासन र स्थायित्वका एजेण्डालाई आधार बनाएर अमूल्य मत दिन आग्रह गर्दै मधेशको दीर्घकालीन परिवर्तनका लागि साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


