महोत्तरी, ११ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीव्र पार्दै महोत्तरीमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम सुरु गरिएको छ ।

निर्वाचन प्रक्रिया व्यवस्थित र निष्पक्ष बनाउने उद्देश्यले सोमबारदेखि एकदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई लक्षित गर्दै सुरु गरिएको तालिममा उनीहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा विस्तृत जानकारी दिइँदैछ ।

मतदान केन्द्र सञ्चालन, मतपत्र व्यवस्थापन, मतदाता पहिचान तथा विवाद व्यवस्थापनलगायत विषयमा प्रशिक्षण केन्द्रित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन व्यवस्थाअनुसार प्रत्येक मतदान केन्द्रमा एक जना मतदान अधिकृत र एक जना सहायक मतदान अधिकृत खटाइने व्यवस्था गरिएको छ ।

आगामी निर्वाचनमा महोत्तरीका चार निर्वाचन क्षेत्रमा रहेका ५ सय ३६ मतदान केन्द्रका लागि कुल १ हजार ७२ मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिइने भएको छ ।

निर्वाचन सञ्चालनका लागि जिल्लाभर करिब ३ हजार २ सय १६ कर्मचारी परिचालन गरिएको छ ।

निर्वाचन कार्यालय महोत्तरीका अनुसार सोमबारबाट सुरु गरिएको तालिम क्रमशः अन्य निर्वाचन क्षेत्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई पनि प्रदान गरिनेछ ।

तालिममार्फत मतदान प्रक्रियामा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्नुका साथै मतदातालाई सहज सेवा उपलब्ध गराउने र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ ।