एमालेकी पूर्वसांसद सम्झना थपलिया रास्वपामा प्रवेश

सिरहा, ११ फागुन । नेकपा एमालेकी पूर्वसांसद सम्झना थपलिया नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक प्रवेश गरेकी छन् ।
सिरहाको गोलबजारमा आयोजित विशेष कार्यक्रममा थपलियासहित एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा रास्वपामा समाहित भएका हुन् ।
कार्यक्रममा रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।
थपलिया २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा खस आर्य समूहबाट समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।
लामो समय एमालेमा सक्रिय राजनीतिक यात्रा गरेकी उनले केही समयअघि जिल्ला तहमा ‘परिवारवाद’ हाबी भएको तथा पुराना कार्यकर्ताको उचित मूल्याङ्कन नभएको आरोप लगाउँदै पार्टी छाड्ने घोषणा गरेकी थिइन् ।
रास्वपामा प्रवेशपछि उनले नयाँ राजनीतिक यात्रामार्फत पारदर्शिता, आन्तरिक लोकतन्त्र र कार्यकर्ताको सम्मानलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।
पार्टीका स्थानीय नेताहरूले थपलियाको आगमनले सिरहामा रास्वपाको संगठन विस्तारमा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


