जनकपुरधाम, ११ फागुन । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) का धनुषा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार सम्पत महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

महतोले आजपा परित्याग गर्दै रास्वपाको सदस्यता ग्रहण गरेका हुन् ।

कार्यक्रममा रास्वपाका सोही क्षेत्रका उम्मेदवार राजकिशोर महतोले उनलाई पार्टीमा स्वागत गर्दै आगामी निर्वाचनमा संयुक्त रूपमा अघि बढ्ने बताएका थिए ।

सम्पत महतोको प्रवेशले धनुषा क्षेत्र नं. ४ को चुनावी समीकरणमा नयाँ चर्चा सुरु भएको छ ।

स्थानीय स्तरमा आजपाबाट सक्रिय रहँदै आएका महतोको रास्वपामा आवद्धताले पार्टी संगठन विस्तारमा सहयोग पुग्ने विश्वास रास्वपा नेताहरूले व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै महतोले वैकल्पिक राजनीतिक शक्तिलाई मजबुत बनाउन आफू रास्वपामा आबद्ध भएको उल्लेख गर्दै सुशासन, पारदर्शिता र विकासका मुद्दामा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाए ।

रास्वपा पक्षले पनि महतोको अनुभव र स्थानीय जनसम्पर्कले पार्टीलाई चुनावी प्रतिस्पर्धामा थप बल पुग्ने विश्वास गरेको छ ।

धनुषामा पछिल्लो समय विभिन्न दलबीच हुने प्रवेश र बहिर्गमनले चुनावी माहोल झनै तातेको छ ।