पर्सा, ११ फागुन । पर्साको वीरगञ्ज महानगरपालिकामा पछिल्ला सुरक्षा चुनौती बढेपछि स्थानीय प्रशासनले सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले बिहान ९:४५ बजेदेखि लागू हुने गरी महानगरका संवेदनशील मुख्य क्षेत्रहरूमा कर्फ्यु लगाएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशमा अर्को सूचना नभएसम्म सर्वसाधारणको आवतजावत, भेला तथा सार्वजनिक गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको उल्लेख छ ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्रको चार किल्ला समेत निर्धारण गरेको छ ।

आदेशअनुसार पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल भारत सीमास्थित शङ्कराचार्य गेटभित्र पर्ने सम्पूर्ण भूभागमा कर्फ्यु लागू गरिएको छ ।

उक्त सीमाभित्र जुलुस, सभा सम्मेलन, बैठक, घेराउ लगायतका गतिविधि गर्न निषेध गरिएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार यो कदम चालिएको प्रशासनको भनाइ छ ।

कर्फ्युका बाबजुद अत्यावश्यक सेवाहरू सञ्चालनमा सहजीकरण गरिने बताइएको छ ।

एम्बुलेन्स, दमकल, शववाहन तथा स्वास्थ्यकर्मीका सवारी साधनलाई निर्वाध रूपमा आवतजावत गर्न दिइनेछ ।

सञ्चारकर्मी, पूर्वनिर्धारित विश्वविद्यालय परीक्षामा सहभागी परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीलाई समेत सुरक्षा निकायले आवश्यक सहजीकरण गर्ने प्रशासनले जनाएको छ ।

त्यसैगरी, हवाई टिकट भएका यात्रुहरूको यात्रा प्रभावित नहोस् भन्ने उद्देश्यले उनीहरूको आवागमनमा अवरोध नगर्ने नीति अपनाइएको छ ।

पछिल्ला केही घटनाक्रमले वीरगञ्जमा सुरक्षा चुनौती बढेको र सामाजिक सद्भावमा असर पर्ने सम्भावना देखिएकाले कर्फ्यु लागू गर्नुपरेको प्रशासनको बुझाइ छ ।

हाल महानगरका मुख्य चोक, सडक र संवेदनशील क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी उच्च सतर्कता अपनाइएको छ ।