गौरमा कर्फ्यू हट्यो, संवादपछि अवस्था सामान्य

रौतहट, ११ फागुन । गौरमा लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश सोमबार बिहानदेखि हटाइएको छ ।
गौर नगरपालिका–६ सबगढा क्षेत्रमा दुई समुदायबीच देखिएको विवाद क्रमशः साम्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले बिहान १० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले गत शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको थियो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(९)(क) अनुसार जारी गरिएको कर्फ्यूका कारण मानिसहरूको आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शन पूर्ण रूपमा निषेध गरिएको थियो ।
प्रशासनले कर्फ्यूको दायरा पूर्वमा मुडवलवा गेट, पश्चिममा ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालय गेटसम्म तोकेको थियो ।
सबगढा क्षेत्रमा उत्पन्न साम्प्रदायिक तनाव, झडप तथा शान्ति सुरक्षामा आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै कर्फ्यू लगाइएको बताइएको थियो ।
स्थिति नियन्त्रणमा आएपछि दुवै पक्षबीच संवाद र सहमतिमार्फत वातावरण सामान्य बन्दै गएको निष्कर्षसहित कर्फ्यू हटाइएको प्रशासनले जनाएको छ ।
रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बिहान १० बजेदेखि कर्फ्यू पूर्ण रूपमा हटाइएको जानकारी दिँदै जिल्लाको शान्ति सुरक्षा अवस्था हाल सामान्य रहेको बताए ।
प्रशासनले सबै पक्षलाई संयमित रहन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


