महोत्तरीमा निर्वाचन लक्षित डिजे साउण्ड सिस्टममा प्रतिबन्ध

महोत्तरी, ११ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा महोत्तरी जिल्लामा चुनावी प्रचारप्रसारका क्रममा प्रयोग हुने डिजे साउण्ड सिस्टम तथा उच्च ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार एक जरुरी सूचना जारी गर्दै जिल्लाभर सार्वजनिक स्थान, जुलुस, र्याली तथा आमसभामा डिजे साउण्ड सिस्टम, ठूला लाउडस्पीकर तथा ध्वनि प्रदूषण गर्ने उपकरण प्रयोग नगर्न निर्देशन दिएको हो ।
प्रशासनका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार तीव्र बनेसँगै ध्वनि प्रदूषण बढेको गुनासो आएपछि यस्तो निर्णय गरिएको हो ।
सूचनामा अत्यधिक ध्वनिका कारण विद्यार्थीको अध्ययनमा असर पर्ने, ज्येष्ठ नागरिक तथा बिरामीको स्वास्थ्यमा समस्या देखिने तथा सामाजिक सद्भाव र शान्ति सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्ने अवस्थालाई मध्यनजर गर्दै प्रतिबन्ध लागू गरिएको उल्लेख छ ।
जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गर्दै फागुन १० गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लागू गरिएको प्रशासनले जनाएको छ ।
आदेश उल्लंघन गरी डिजे साउण्ड सिस्टम प्रयोग गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिने र प्रचलित कानूनअनुसार कडा कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन राजनीतिक दल, उम्मेदवार, नागरिक समाज तथा सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


