१७ फागुनभित्र नेपाल प्रवेश गर्न महोत्तरी प्रशासनको आग्रह

महोत्तरी, ११ फागुन । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै महोत्तरी प्रशासनले सीमा प्रवेश सम्बन्धी विशेष सार्वजनिक अपिल जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीले सोमबार सूचना जारी गर्दै निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी छिमेकी देश भारतसँग जोडिएका सीमा नाकाहरू निश्चित अवधिका लागि सिल गरिने जनाएको हो ।
फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ ।
सूचनाअनुसार महोत्तरी जिल्लास्थित सीमा नाकाहरू मतदानअघि बन्द रहने प्रक्रियामा रहनेछन् ।
प्रशासनले भारत लगायत विभिन्न वैदेशिक मुलुकबाट मताधिकार प्रयोग गर्न नेपाल फर्कने योजनामा रहेका नेपाली नागरिकलाई सीमा नाकामा सम्भावित आवागमन अवरोधबाट बच्न समयमै प्रवेश गर्न आग्रह गरेको छ ।
सूचनामा सीमा नाकाहरू पूर्ण रूपमा सिल हुनु अघि अर्थात् फागुन १७ गतेभित्रै नेपाल प्रवेश गरिसक्न अनुरोध गरिएको छ ।
निर्वाचन सुरक्षाका कारण उक्त मितिपछि सीमा नाकाबाट आवतजावतमा कडा प्रतिबन्ध लाग्ने भएकाले ढिलो गरी आउने नागरिक सीमामै रोकिन सक्ने र मतदानबाट वञ्चित हुन सक्ने चेतावनी प्रशासनले दिएको छ ।
स्थानीय प्रशासनले नागरिकलाई आफ्नो गाउँठाउँमा समयमै पुगेर निर्वाचनमा उत्साहपूर्वक सहभागी हुन तथा शान्ति सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी संजय कुमार पोखरेलले निर्वाचन सुरक्षा र सुव्यवस्थाका लागि चालिएको यस कदममा सबै नागरिकको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


