कञ्चनवनमा होली (फोटोफिचर)

महोत्तरी, ११ फागुन । त्रेता युगमा राम र सीताले रंग अबिर खेली होली मनाएको जनविश्वाससँग जोडिएको महोत्तरीको कञ्चनवन सोमबार रंगीन बनेको छ ।
मिथिला मध्यमा परिक्रमा अन्तर्गत मिथिला विहारीको डोलासहित कञ्चनवन पुगेका श्रद्धालुहरूले एकअर्कालाई रंग अबिर दल्दै उल्लासपूर्वक होली पर्व मनाएका हुन् ।
कञ्चनवनमा रंग खेलेसँगै मिथिलाञ्चल क्षेत्रमा होली पर्वको औपचारिक आगमन भएको मानिने परम्परा रहेको संस्कृतिविदहरू बताउँछन् ।

परम्पराअनुसार परिक्रमा टोली कञ्चनवन आइपुग्नेबित्तिकै होली खेल्ने चलन छ । स्थानीय मठमन्दिरका महन्थ, विभिन्न सामाजिक तथा सांस्कृतिक अभियन्ताका साथै राजनीतिक क्षेत्रसँग आबद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिताले कञ्चनवनको होलीलाई विशेष बनाउने गरेको छ । धार्मिक आस्था र सांस्कृतिक एकताको प्रतीकका रूपमा यहाँको होली वर्षेनि झन् व्यवस्थित हुँदै गएको देखिन्छ ।
फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीका दिन ध्रुवकुण्डबाट कञ्चनवन पुग्छ । धार्मिक दृष्टिले महत्वपूर्ण मानिने कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल रहेको विश्वास छ ।
इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको किंवदन्ती पनि प्रचलित छ । यही स्थलमा रामजानकीले होली खेलेको जनआस्था रहँदै आएको छ । यसकारण कञ्चनवनलाई मिथिलाञ्चलको सांस्कृतिक धरोहरका रूपमा लिइन्छ ।

यस वर्षको परिक्रमा जनकपुरधामस्थित हनुमान नगरबाट डोलासहित सुरु भएको थियो । परिक्रमा टोली कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै हुँदै पुनः ध्रुवकुण्ड पुगेर कञ्चनवन आइपुगेको हो । तीर्थयात्रीहरूले बाटोभरि भजन कीर्तन, आरती र धार्मिक अनुष्ठान गर्दै यात्रा सम्पन्न गरेका थिए ।
कञ्चनवनको होलीको प्राचीनता र सांस्कृतिक महत्वलाई मध्यनजर गर्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले पछिल्ला केही वर्षदेखि यहाँ औपचारिक रूपमा होली महोत्सव आयोजना गर्दै आएको छ । परिषद्का पदाधिकारीहरूका अनुसार कञ्चनवनलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले कार्यक्रमलाई थप व्यवस्थित र आकर्षक बनाइएको हो ।

कञ्चनवनमा मनाइने होली केवल रंगको उत्सव मात्र नभई मिथिलाञ्चलको सांस्कृतिक पहिचान र धार्मिक आस्थासँग जोडिएको पर्वका रूपमा स्थापित हुँदै गएको छ । रामजानकीको स्मृतिमा खेलिने यहाँको होलीले समुदायबीच सद्भाव, एकता र परम्पराको निरन्तरताको सन्देश दिने विश्वास गरिन्छ ।
मिथिला मध्यमा परिक्रमा कञ्चनवन पुगेसँगै अब सम्पूर्ण मिथिलाञ्चल होलीमय बनेको छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


