जनकपुरधाम, १० फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि धनुषामा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम सुरु भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं. १ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई लक्षित गरेर आइतबार एक दिने प्रशिक्षण जनकपुरधामको मोडेल मल्टिपल क्याम्पसमा सञ्चालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत सुभाष बाबु पुरीले तालिमको उद्घाटन गर्दै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा जानकारी दिए ।

प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर लगायतका सुरक्षा निकायका अधिकारीहरूले मतदान केन्द्रमा शान्ति सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षा लगायतका विषयमा मार्गदर्शन दिएका थिए ।

फागुन २१ गते हुने निर्वाचनमा धनुषाको ४ निर्वाचन क्षेत्रमा जम्मा ६ सय ४५ मतदान केन्द्र सञ्चालन हुनेछन् । प्रत्येक मतदान केन्द्रमा १ जना मतदान अधिकृत र १ जना सहायक मतदान अधिकृत खटिने व्यवस्था गरिएको छ ।

यस पटक धनुषा जिल्लामा कुल मतदाता संख्या ५ लाख १४ हजार ५ सय ७१ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. १ मा १ सय ६३ मतदान केन्द्र रहेको छ । त्यहाँ १ लाख २६ हजार ४० मतदाता छन् ।

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार आइतबारबाट सुरु भएको तालिम क्रमशः फागुन ११ गते क्षेत्र नं. २, १२ गते क्षेत्र नं. ३ र १३ गते क्षेत्र नं. ४ का मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको तालिम हुने जनाइएको छ ।

तालिममार्फत मतदान प्रक्रियामा निष्पक्षता कायम राख्न, मतदाता सुविधा सुनिश्चित गर्न र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कडा तयारी भइरहेको छ ।

निर्वाचन अधिकृतहरूले मतदान अधिकृतहरूलाई नियम, जिम्मेवारी र सुरक्षा प्रोटोकल पालन गर्न विशेष ध्यान दिनु पर्ने बताए ।