जनकपुरधाम, १० फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दिएकी नेकपा एमालेकी नेतृ जुलीकुमारी महतोले आगामी निर्वाचनमा मतदाताले पुनः आफूमाथि विश्वास गर्ने दाबी गरेकी छन् ।

उनले २०७९ को निर्वाचनमा प्राप्त जनसमर्थन यसपटक पनि कायम रहने विश्वास व्यक्त गरिन् ।

आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१६ कपिलेश्वर पुगेकी महतोले स्थानीयको स्वागतपछि अघिल्लो कार्यकालमा सुरु गरिएका विकास योजनालाई निरन्तरता दिन आफू फेरि मैदानमा उत्रिएको बताइन् ।

मतदाताले काम गर्ने अवसर दिएको र सोही अनुसार काम अघि बढिरहेको अवस्थामा कार्यकाल पूरा नहुँदै निर्वाचनमा जानु परेको उनको भनाइ थियो ।

महतोले सुरु गरिएका योजनाहरु आफूले नै पूरा गर्ने अपेक्षा मतदातामा रहेको दाबी गर्दै क्षेत्रको समग्र विकासका लागि ल्याइएका कार्यक्रमलाई निरन्तरता दिन पुनः अवसर आवश्यक रहेको बताइन् ।

उनले नयाँ दलहरुले पुराना दलप्रति मतदातामा वितृष्णा फैलिएको भन्ने भ्रम फैलाइरहेको आरोप लगाउँदै एमाले संविधान रक्षा र राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर उभिएको दल भएको दाबी गरिन् ।

एमाले नेतृत्वको सरकारले विकास र समृद्धिको स्पष्ट दृष्टिकोण अघि सारेको उल्लेख गर्दै उनले मधेस क्षेत्रका लागि नेपाल रेल स्तरोन्नति, सुनकोशी–मरिन–कमला डाइभर्सन जस्ता परियोजना तथा जनकपुरधामलाई वैवाहिक गन्तव्यका रूपमा विकास गर्ने योजनाहरु अघि बढाइएको स्मरण गराइन् ।

क्षेत्रका मतदाता यी विकास प्रयासबारे जानकार रहेको भन्दै आगामी दिनमा पनि एमाले नेतृत्वको सरकारप्रति जनसमर्थन कायम रहनेमा आफू विश्वस्त रहेको महतोको भनाइ छ ।