जनकपुरधाम, १० फागुन । धनुषा निर्वाचन क्षेत्र नम्बर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति युवाहरुको आकर्षण बढ्दै गएको देखिएको छ ।

पछिल्ला केही दिनयता क्षेत्रमा निरन्तर रुपमा युवाहरु र विभिन्न पेशा व्यवसायसँग आबद्ध व्यक्तिहरु रास्वपामा प्रवेश गरिरहेका छन् ।

यसैक्रममा, आलु प्याज व्यवसायी संघ जनकपुरधामका अध्यक्ष सुरज साह तथा उद्योग वाणिज्य संघ जनकपुरधामका कार्यकारिणी सदस्य दुर्गेश साह पनि रास्वपामा प्रवेश गरेका छन् ।

परिवर्तनमुखी राजनीतिक अभियानलाई सघाउने उद्देश्यले आफूहरु पार्टीमा आबद्ध भएको उनीहरुले बताएका छन् ।

आइतबार जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ भ्रमरपुरा चोक र वडा नं. १ मा आयोजित छुट्टाछुट्टै पार्टी प्रवेश कार्यक्रममा एक सयभन्दा बढी युवाहरु रास्वपामा प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीका प्रवक्ता तथा धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनिष झाले स्वागत गरेका थिए ।

कार्यक्रममा बोल्दै झाले रास्वपाले अघि सारेको परिवर्तनको अभियान जनस्तरसम्म पुगिरहेको प्रवेशको लहरले पुष्टि गरिरहेको बताए ।

युवाहरुमा देखिएको आकर्षणले पार्टीको अभियानलाई थप बल पुग्ने विश्वास उनले व्यक्त गरे ।

स्थानीय स्तरमा युवाको बढ्दो सहभागितासँगै धनुषा–३ मा आगामी निर्वाचनको राजनीतिक माहोल थप सक्रिय बन्दै गएको देखिन्छ ।