शान्तिपूर्ण मतदानका लागि महोत्तरीमा सर्वदलीय सहमति, होली मनाउन पनि मर्यादा

महोत्तरी, १० फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सर्वदलीय समन्वय बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा आइतबार बसेको बैठकमा जिल्लास्थित क्रियाशील राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो ।
बैठकले निर्वाचन आयोगद्वारा जारी आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै सरकारी स्रोत साधनको दुरुपयोग नगर्ने सहमति गरेको छ ।
राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले चुनावी गतिविधि मर्यादित र नियमसम्मत ढंगले सञ्चालन गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
मतदान प्रक्रियालाई सहज बनाउन मतदान अधिकृत र कर्मचारीलाई आवश्यक प्रक्रियागत सहजीकरण गर्ने तथा उनीहरूलाई निष्पक्ष र भयरहित वातावरणमा जिम्मेवारी निर्वाह गर्न सबै निकायले सहयोग गर्ने निर्णय पनि गरिएको छ ।
जिल्लाको बहुभाषिक र बहुसांस्कृतिक परिवेशलाई ध्यानमा राख्दै धर्म, जाति, भाषा वा समुदायबीच वैमनस्य फैलाउने गतिविधि नगर्न सबै पक्ष सहमत भएका छन् ।
निर्वाचन प्रचारका क्रममा दलहरूबीच झडप वा अवरोध हुन नदिन कार्यकर्तालाई संयमित रहन निर्देशन दिने सहमति गरिएको छ ।
सामाजिक सञ्जालको प्रयोग मर्यादित बनाउन चरित्र हत्या, घृणास्पद अभिव्यक्ति तथा भ्रामक सूचना फैलाउने गतिविधि रोक्न दलहरूले आफ्ना प्रचार संयन्त्रलाई सचेत गराउने निर्णय भएको छ ।
सम्भावित विवाद स्थानीय तहमै संवादमार्फत समाधान गर्दै सुरक्षा निकायसँग निरन्तर समन्वय गर्ने सहमति समेत बैठकले गरेको छ ।
निर्वाचन जुलुस, आमसभा तथा प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्ने र विद्यालय क्षेत्रलाई राजनीतिक गतिविधिबाट मुक्त राख्ने निर्णय पनि गरिएको छ ।
निर्वाचनको दिन अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधन सञ्चालन बन्द रहने तथा उम्मेदवार र निर्वाचनमा खटिने व्यक्तिले पास लिएर मात्र आवतजावत गर्न पाउने व्यवस्था गरिने प्रशासनले जनाएको छ ।
बैठकले मिथिला माध्यमिकी परिक्रमामा नेपाल प्रवेश गरेका विशेषगरी भारतीय दर्शनार्थीलाई सीमा सिल हुने अवस्थालाई ध्यानमा राखी फागुन १८ भित्र सुरक्षित रूपमा फिर्ता हुन जानकारी गराउने निर्णय गरेको छ ।
उम्मेदवारलाई सुरक्षा चुनौती देखिए आवश्यक सुरक्षाको व्यवस्था मिलाइने पनि बताइएको छ ।
आसन्न होली पर्वलाई पनि सुरक्षा संवेदनशीलता ध्यानमा राखी मर्यादित र शान्तिपूर्ण रूपमा मनाउन आग्रह गरिएको छ । सार्वजनिक स्थलमा भीडभाड गरेर सामूहिक होली मनाउन रोक लगाउने निर्णय गरिएको छ ।
निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै फागुन १८ देखि २१ गतेसम्म भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार सुविधा नदिने निर्णय भएको छ ।
त्यस्तै, मतदानभन्दा सात दिनअघि जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा निषेध गरिने तथा सीमा क्षेत्रमा हुने अवैध मदिरा कारोबार नियन्त्रणका लागि संयुक्त अनुगमन टोली परिचालन गरिने प्रशासनले जनाएको छ ।
बैठकले विदेशबाट मतदान गर्न आउने नेपाली नागरिकलाई सीमा सिल हुनुअघि अर्थात् फागुन १७ भित्रै नेपाल प्रवेश गर्न सार्वजनिक अपिल गर्ने निर्णय पनि गरेको छ ।
प्रशासनले यी निर्णय कार्यान्वयनमा सबै राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सक्रिय सहकार्य आवश्यक रहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


