रौतहट, १० फागुन । रौतहटको गौर नगरपालिका–६ सबगढा टोलमा दुई समुदायबीच उत्पन्न विवाद उग्र बनेपछि स्थानीय प्रशासनले कर्फ्यु जारी गरेको छ ।

सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्ने निर्णयसमेत गरिएको छ ।

आइतबार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे निर्णय गर्दै जिल्लामा शान्ति र सद्भाव कायम गर्न कडाइका साथ अघि बढ्ने निष्कर्ष निकालेको हो ।

गत बिहीबार राति करिब पौने १० बजे सुरु भएको विवाद शुक्रबार सहमतिमा पुगे पनि भोलिपल्ट पुनः अवस्था तनावग्रस्त बनेपछि प्रशासनले प्रभावित क्षेत्रको चार किल्ला निर्धारण गर्दै कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

सबगढा गाउँसहित केही स्थानमा सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने प्रयास भएको निष्कर्ष निकाल्दै सुरक्षा निकायले शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको छ ।

बैठकले घटनामा पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउने र दोषी देखिए थप व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कारबाही गर्न प्रहरी प्रशासनलाई आग्रह गरेको छ ।

जिल्लाभर धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भाव कायम राख्ने उद्देश्यले भोलि बिहान साढे ७ बजे नागरिक समाजको अगुवाइमा सरोकारवाला निकायको सहभागितामा सद्भाव र्‍याली आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।

यसैगरी, सबगढा गाउँमा देखिएको विवाद समाधानका लागि दुवै पक्षका स्थानीय भद्रभलादमी व्यक्तिहरुको उपस्थितिमा जिल्ला सुरक्षा समितिले औपचारिक तथा अनौपचारिक छलफल अघि बढाउने निर्णय भएको छ ।

प्रहरीका अनुसार घटनासँग सम्बन्धित पूर्ववडाध्यक्ष र वर्तमान वडाध्यक्षसहित करिब दुई दर्जन व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

प्रशासनले स्थानीयलाई अफवाहमा नलाग्न र शान्ति कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।