जसपासँग सम्बन्ध नरहेको तमलोपाको स्पष्टोक्ति

जनकपुरधाम, १० फागुन । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोप) ले जनता समाजवादी पार्टी (जसपा) सँग आफ्नो कुनै सम्बन्ध नरहेको औपचारिक घोषणा गरेको छ ।
पार्टीको केन्द्रीय कार्यालयबाट जारी प्रेस विज्ञप्तिमा विगतमा प्रस्तावित राजनीतिक एकीकरण प्रक्रियामा आफूलाई संस्थागत रूपमा सहभागी नगरिएको भन्दै तमलोपाले यस्तो निर्णय सार्वजनिक गरेको हो ।
पार्टीका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र तथा मधेशी, थरुहट, आदिवासी–जनजाति, दलित र मुस्लिम समुदायका एजेन्डालाई केन्द्रमा राखेर लोकतान्त्रिक समाजवादी पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपाबीच बृहत् राजनीतिक शक्ति निर्माणका लागि एकीकरणको सहमति भएको थियो । तर, सहमतिअनुसार एकीकरण प्रक्रिया पूर्ण हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यसपछि, २०८२ पुस २७ गते लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जसपाबीच एकीकरण भए पनि उक्त प्रक्रियामा तमलोपाको संस्थागत सहभागिता नगराइएको पार्टीको आरोप छ ।
मधेश केन्द्रित एजेन्डासहित बृहत् शक्ति निर्माण गर्ने प्रतिबद्धतामा स्पष्टता नदेखिएको र विगतका त्रुटि सुधार्ने मानसिकता पनि अभाव रहेको निष्कर्ष निकाल्दै तमलोपाले नयाँ एकीकृत संरचनासँग आफूहरूको सम्बन्ध नरहेको स्पष्ट पारेको हो ।
तमलोपाले राजनीतिक मर्यादा, आत्मसम्मान र संस्थागत मूल्यलाई प्राथमिकतामा राख्दै स्वतन्त्र रूपमा आफ्नो राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ ।
पार्टीले मधेशी लगायत सिमान्तकृत समुदायका अधिकार र प्रतिनिधित्वका मुद्दामा निरन्तर सक्रिय रहने प्रतिबद्धता पनि दोहोर्याएको छ ।
यसैबीच, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तमलोपाले गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रप्रति आस्था राख्ने उम्मेदवारलाई मतदान गर्न मतदातासँग अपिल गरेको छ ।
पार्टीका केन्द्रीय अध्यक्ष वृषेशचन्द्र लालले मधेश केन्द्रित एजेन्डालाई मजबुत बनाउन वैचारिक स्पष्टता र संस्थागत एकता आवश्यक रहेको उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


