गौर घटनाप्रति संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको अपिल

रौतहट, १० फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता माधवकुमार नेपालले गौरमा पछिल्लो समय देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दुवै समुदायलाई संयमता अपनाउन आग्रह गरेका छन् ।
आइतबार जारी गरेको सन्देशमार्फत उनले हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवादलाई संवाद र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।
नेपालले धार्मिक सहिष्णुता नेपाली समाजको पहिचान रहेको उल्लेख गर्दै एकअर्काको धर्म, संस्कृति र चाडपर्वप्रति सम्मान कायम राख्न सबै पक्षलाई अपिल गरे ।
उनले सदियौँदेखि सहअस्तित्वमा रहेका समुदायबीच अविश्वास र द्वन्द्व बढ्नु दुःखद भएको टिप्पणी गर्दै साम्प्रदायिक हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने स्पष्ट पारे ।
स्थानीय नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारलाई प्रभावकारी कदम चाल्न उनले आग्रह गरे ।
रौतहट क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेपालले पछिल्ला दिनमा तोडफोड, आगजनी र ढुंगा हानाहानजस्ता घटनाले अवस्था जटिल बनेको उल्लेख गर्दै प्रशासनले जारी गरेको कर्फ्यु छिट्टै हट्ने वातावरण बनाउन केन्द्र सरकारसँग समन्वय भइरहेको बताए ।
तीन दिनअघि सामान्य भनाभनबाट सुरु भएको विवाद विस्तारै साम्प्रदायिक तनावमा परिणत भएपछि प्रशासनले निषेधाज्ञा तथा कर्फ्यु लागू गरेको थियो ।
स्थानीय स्तरमा शान्ति कायम गर्न राजनीतिक दल, नागरिक समाज र समुदायका अगुवाहरू सक्रिय रूपमा संवादमा जुट्नुपर्नेमा नेपालले जोड दिएका छन् ।
नेपालले दीर्घकालीन समाधानका लागि आपसी विश्वास पुनःस्थापना, सामाजिक सद्भाव अभिवृद्धि र सुरक्षाको प्रत्याभूति अनिवार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई जिम्मेवार व्यवहार गर्न आह्वान गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


